बुटवल, २५ बैशाख । प्रदेश ५ का मूख्यमन्त्री शँकर पोख्रेलले वुद्धका उपदेश आज स्थापित वुद्ध दर्शन बौद्ध धर्मावलम्वीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमुल्य निधि भएको वताउनु भएको छ ।
२५६४ औं बुद्ध जयन्तीको अवसरमा मुख्यमन्त्री पोख्रेलले जारी गर्नुभएको शुभकामना सन्देशमा इसापूर्व ५६३ अर्थात आजभन्दा २५६४ वर्ष अघि लुम्विनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्ध विश्व शान्ति र मानव कल्याणका अग्रदुत हुनुहुन्छ भनिएको छ ।
‘वुद्धले मानव कल्याण, अहिंसा र शान्तिको खोजीका लागि २९ वर्षको उमेरमा राजगद्दीको उत्तराधिकार सहित गृहत्याग गर्नुभयो । हिंसा र दुखको कारणको खोजीमा गृह त्याग गर्नुभएका सिद्धार्थ गौतम् वुद्धले भातृत्व र मानव कल्याणका लागि महान दार्शनिक विचारवाट समाजलाई दिक्षित गर्नु भयो । र, मानिसलाई सत्कर्मको वाटोमा हिडाउन सफल हुनु भयो ।’ शुभकामना सन्देशमा उल्लेख छ ।
प्राचीन कपिलवस्तु र कोलीय गणराज्यमा धेरै स्थलहरु माटोमुनि दविएर रहेका र ती सम्पदास्थलको अन्वेषण गर्दै मानव जातिको अमुल्य निधिका रुपमा संरक्षित गर्नु आवश्यक छ भन्दै शुभकामना सन्देशमा वुद्धकालीन सम्पदाका रुपमा रहेका ऐतिहासिक स्थलहरु तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सग्रहवा, अरौराकोट र सग्रहवाको खोज अनुसन्धान तथा पर्यटकीय हिसावले ती क्षेत्रको विकास जरुरी रहेको उल्लेख गरिएको छ ।
‘बौद्ध सम्पदास्थलको खोज र अनुसन्धानका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयसंग सहकार्य अघि बढेको र पर्यटन प्रवद्र्धनको लागि बृहत्तर ढंगले काम गर्न आवश्यक भएकाले हामी योजनाबद्ध रुपले अघि बढिरहेका छौं ।’ सन्देशमा भनिएको छ ।
शुभकामना सन्देशमा लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने नाराका साथ अघि बढेको लुम्बिनी भ्रमण वर्ष कार्यक्रमको औपचारिक समापन गर्न असमर्थ भएका छौं र लुम्बिनीमा हुने बुद्ध जयन्तीको भव्य कार्यक्रम पनि नहुने उल्लेख छ ।
यतिखेर विश्व कोरोना भाइरस विरुद्ध लडिरहेको छ, यो लडाईमा हामी पनि छौं र कोरोना विरुद्धको लडाईलाई सफल पार्न मुलुक डेढ महिनादेखि लकडाउनमा छ सन्देशमा उल्लेख छ ।
विश्व शान्तिको कामनाका लागि र कोरोना विरुद्धको अग्रमोर्चामा खटिएका चिकित्सक सहितका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा आज साँझ घर—घरमा दीप प्रज्ज्वलन गर्न मुख्यमन्त्रीले शुभकामना सन्देश मार्फत सवैलाई आह्वान गर्नुभएको छ । मुख्यमन्त्री पोख्रेलले लकडाउनको पालना गर्दै सबै घर—घरमा बस्न सक्दा मात्रै कोरोना विरुद्धको संघर्षलाई सफल बनाउन सकिने भएकाले यस अवसरमा लकडाउनको पूर्ण रुपमा पालना गरी आफू पनि सुरक्षित हुन र अरुलाई पनि सुरक्षित बनाउन समेत अपील गर्नुभएको छ ।
