लुम्विनीमा २५६४ वटा दीप प्रज्वलन गरिने
बुटवल, २४ बैशाख । आज वैशाख शुक्ल पूर्णिमा अर्थात २५६४ औँ बुद्ध जयन्ती । तर यस वर्ष विगतका वर्षमा जस्तो लुम्विनीमा कुनै कार्यक्रम हुने छैनन् । कोरोना भाइरसका कारण २५६४ औं बुद्धजयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको औपचारिक कार्यक्रम स्थगित गरिएको छ ।
लुम्विनी विकाष कोषले यस अघि नै प्रेस विज्ञप्ति निकालेर नेपाल सरकारबाट कोरोना भाइरस(कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि जारी निर्देशन अनुसार २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका सब ैऔपचारिक कार्यक्रम स्थगित गरिएको जानकारी गराई सकेको छ ।
लुम्बिनी विकाष कोषका कामु सदस्य सचिव ज्ञानिन राईले जारी गरेको प्रेस विज्ञप्तिमा बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका सबै कार्यक्रम स्थगित गरिए पनि सामाजिक दुरी कायम गर्दै बौद्ध भिक्षु तथा लामा गुरुहरूबाट विश्व शान्तिको कामना गर्दै प्रार्थना र पूजा भने गरिने उल्लेख गरिएको छ ।
यस वर्ष वैशाख २५ गते (आज)भगवान गौतम बुद्धको २५६४ औं जन्मजयन्तीका अवसरमा लुम्विनीमा २५६४ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषले जनाएको छ । यसका साथै कोषले बौद्ध समुदायलाई नेपाल सरकारको निर्देशन पालना गर्दै सुरक्षित तवरबाट घरमै प्रार्थना तथा पूजापाठ गरी बुद्धजयन्ती मनाउन समेत आह्वान गरेको छ । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई सफल बनाउने गरी तयारी थालेको थियो ।
गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले बौद्ध धर्मावलम्बीले यस दिनलाई त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६४ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो । ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो । ३६ वर्षको उमेरमा सारनाथमा उहाँले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिनुभएको थियो ।
भगवान् बुद्धले बुद्धत्व (ज्ञान) प्राप्त गर्नुभएको मुख्य कुरा चार आर्य सत्य रहेका छन् । जन्म, व्याधि, जरा र मृत्युका चार सत्यलाई बुद्धले व्याख्या गर्नुभएको छ । यसलाई बुद्धले दिनुभएको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् । यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ ।
हिन्दू दर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धको पूजा गरी बुद्ध जयन्ती मनाउछन् ।