श्यामलाल पोखरेल
बुटवल, २५ मंसिर
माध्यामिक विद्यालय संघ नेपाल ( हिसान ) रुपन्देहीले सन २०२० भिजिट नेपाल पर्यटन वर्षबारे अन्तर माध्यामिक विद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । हिसानमा आवद्व विद्यालयहरुको सहभागितामा बुधबार रुपन्देहीको बुटवलमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । सरकारले अघि सारको सन २०२० भिजिट नेपाल वर्षको प्रचार प्रसारका साथै भ्रमण वर्षलाई सफल पार्ने उद्देश्यले प्रतियागिताको आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी विद्यार्थीले सरकारले पहिचान गरेका १ सय पर्यटकीय स्थललाई व्यवस्थित गरेर विदेशी पर्यटक भित्राउन सकिने तर्क गरेका छन् । भिजिट नेपाल वर्षमा सरकारले भने जस्तै २० लाख पर्यटक भित्राउन सकिने सम्भावना रहेको र उचित व्यवस्थापनका साथै प्रचारप्रसार गर्न नसकिए भ्रमण वर्ष चुनौतीको रुपमा सकिने उनीहरुको तर्क छ । सन २०२० भिजिट नेपाल वर्ष घोषणा गरेर पर्यटकीय स्थलहरु व्यवस्थित नहुंदा विदशै पर्यटक नेपाल आएपनि धेरै दिन बस्न नरुचाउने गरेको प्रतियागी विद्यार्थीको भनाइ छ । यस क्षेत्रमा बढी भन्दाबढी पर्यटक भित्राउनका लागि लुम्बिनीको गुरुयोजनालाई छिटो पुरा गरी, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउनु पर्ने र लुम्बिनीसंग जोडिएका सबै स्थलहरुको सरकारले तत्काल उचित व्यवस्थापन गर्नुपर्ने विद्यार्थीको माग छ । अंगे्रज सेनालाई परास्त गर्नका लागि प्रयोग भएको जीतगढी किल्ला, रामापिथेकश लगायतका महत्वपूर्ण स्थलहरुको विदेश प्रचारप्रसार गर्न सकिए विदेशी मुद्रा भित्राउन सकिने उनीहरुको धारणा छ । प्रतियोगितामा मणि मुकुन्दका सेजल भण्डारी प्रथम भएका छन् । त्यस्तै सेन्टजोसेफ माविका विद्यार्थी निर्मित भट्टराई द्वितिय भए भने होराईजन जिबीएस मावि ड्राईभरटोलका विद्यार्थी रोशनी पौडेल तृतिय भएको कार्यक्रम संयोजक पुरुषोत्तम बस्यालले जानकारी गराउनुभयो । उनीहरुले क्रमस रु ५, ३ र २ हजार नगदसहित प्रमाण पत्र प्राप्त गरेका छन् । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर चारका वडाध्यक्ष टंक पराजुलीले विदशी पर्यटक भित्राउन सकिने सम्भावना रहेको उल्लेख गर्दै पर्यटकलाई खुशी पार्न सकिए मुलुकको आर्थिक सम्वृद्वि हुन सक्ने बताउनुभयो । प्रध्यापक डाक्टर हिरण्यलाल ज्ञवाली र सहप्रध्यापक ऋषिराम भुसालले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । हिसानका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षता र बाबुराम बञ्जाडेको सञ्चालनमा कार्यक्रम भएको थियो । प्रतियोगितामा २० वटा माध्यामिक विद्यालयको सहभागिता रहेको थियो ।
