बुटवल २ असोज । इस्लाम धर्मावलम्वीको नयाँ वर्ष १४४१ औं हिजरी सम्वतको अवसरमा रजा–ए मुस्तफा मस्जिद समितिले बिहीबार बुटवलमा रक्तदान गरेको छ । मस्जिद परिसरमा आयोजित रक्तदान कार्यक्रममा ७० युनिट रगत संकलन भएको समितिले जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै पुर्वमन्त्री अव्दुल रज्जाकले सबै धर्म र समुदायबीच एकता र सदभाव दर्शाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले धार्मिक सहिष्णुता आजको आवश्यकता रहेको उल्लेख गर्दै इस्लाम धर्मावलम्बीहरुले बेलाबखतमा गरेका सामाजिक कार्यहरुको प्रशंसा गर्नु भयो । उहाँले मुलुक संविधान कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै सबै क्षेत्र र समुदायका हक अधिकार संविधानले सुनिश्चित गरेकाले यसको. सफल कार्यान्वयन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । पुरानो बटौलीको विकासमा सबैको हातेमालो जरुरी रहेको औंल्याउँदै उहाँले यस क्षेत्रलाई सरसफाईदेखि लिएर विकासमा नमुना बनाउनुपर्ने बताउनु भयो ।
रजा–ए मुस्तफा मस्जिद समितिका अध्यक्ष हाजी मकवुल मियाँले इस्लामिक नयाँ वर्षका अवसरमा प्रत्येक वर्ष समितिले रचनात्मक काम गर्दै आएको जानकारी दिंदै आगामी दिनमा पनि यस्ता कार्यलाई अघि बढाइने उल्लेख गर्नु भयो । उहाँले विकास निर्माणका सवालमा आफूहरु स्थानीय तह र राजनीतिक दलहरुसँग सहकार्य गरी अघि बढ्न चाहेको बताउनु भयो ।
कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष हाजी रहमद खाँन, सचिव अब्दुल सहमद, मदिना मदरसा मस्जिद प्रवन्ध परिषदका अध्यक्ष सक्कुर मियाँ लगायतले सामाजिक कार्यमा मस्जिद समितिले आफूलाई सक्रिय गराउँदै आएको बताउनु भयो ।