बुटवल, ३० भदौ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज (बिहिबार)जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । ब्राह्मण तथा क्षेत्री पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै वार्षिक रुपमा परिवर्तन तथा धारण गर्ने पर्वको रुपमा यो पर्व मनाउने गरिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ ।
शास्त्रीय मान्यता अनुसार तागाधारी अर्थात ब्राह्मण, क्षेत्री र बैष्य जातीले वर्षभरी वेद पढेर त्यसको समाप्ती गर्ने दिनमा जनैपुर्णिमा मनाउने गरिन्छ । अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, बिहानै नदी तलाउमा गाईको गोबर तथा तुलसीको माटो लगाई स्नान गर्ने प्रचलन छ । स्नान गरी जौ, तिल र कुशद्धारा सप्तऋषी, ब्रह्मा, विष्णु र महेश्वरको पुजा गरी जनै मन्तरेर नयाँ जनै र्फेर्ने धार्मिक प्रचलन रहि आएको छ ।
तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ ।
जनैमा रहेको शिखा अर्थात ससाना गाठालाई जनैको मुटुको रुपमा लिइन्छ । जनै धारण गर्दा शरीरको रक्षा गर्ने, आयु बढाउने, शक्ति प्रदान गर्ने तथा नित्य कर्ममा लाग्न प्रेरित गर्ने धार्मिक विश्वास छ ।
जनैपुर्णिमाका दिन ब्राम्हणद्धारा जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन (डोरो) बाध्ने प्रचलन छ ।
तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ । यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउँछन् ।
जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रमममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ ।
यसैबिच सुदूरपश्चिम प्रदेश सरकार र प्रदेश २ सरकारले जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वका अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिएका छन् । तर इदमा बिदा दिएको प्रदेश ५ को सरकारले भने जनै पुर्णिमामा बिदा दिएन । यस प्रदेशका कतिपय स्थानीय तहले भने जनै पुर्णिमा तथा रक्षाबन्धनको अवसरमा आज सार्बजनिक बिदा दिएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका, रोहिणी र गैडहवा गाउँपालिकाले सार्बजनिक बिदा दिएका छन् । गुल्मीका ५ वटा, अर्घाखाँचीका पाणिनी र छत्रदेवगाउँपालिकाले पनि आज सार्बजनिक बिदा दिएका छन । शिक्षण संस्थाले पनि बिदा दिएका छन् ।