बुटवल, २९ साउन । नेपाली काँग्रेसले प्रदेश नम्वर ५ अन्तर्गतका महाधिवेशन प्रतिनिधिलाई रुपन्देहीको भैरहवामा प्रशिक्षण दिने भएको छ ।
काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश नम्वर ५ अन्तर्गतका महाधिवेशन प्रतिनिधिलाई भदौ २ र ३ गते प्रशिक्षण दिन लागेको हो ।
प्रतिष्ठानले सातै प्रदेशमा सञ्चालन गर्ने प्रशिक्षण कार्यक्रम अन्तर्गत प्रदेश ५का सबै जिल्लाका ५ सय बडी महाधिबेशन प्रतिनिधिलाई प्रशिक्षण दिने गरी कार्यक्रम तय गरेको हो ।
प्रशिक्षणका लागि नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालयमा २ वटा हल र सिद्धार्थनगर उद्योग वाणिज्य संघमा २ वटा हलको व्यवस्था गरिएको काँग्रेस रुपन्देहीले जनाएको छ ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन नेपाली काँगे्रसका पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले गर्नुहुने रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो । यस्तै प्रतिष्ठानका संयोजक रहनु भएका पार्टी उपसभापति बिमलेन्द्र निधि पनि प्रशिक्षण कार्यक्रममा आउनु हुने छ ।
प्रतिष्ठानले ७ प्रदेशका १२ ठाउँमा प्रशिक्षण कार्यक्रम संचालन गर्न डा. जगदिशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति गठन गरी प्रशिक्षणका बिधि प्रक्रिया र बिषय छनौट गरेको छ ।
