बुटवल, १७ कात्तिक । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुले आज काग तिहार मनाउदै छन् । तिहार अर्थात् यमपञ्चकको पहिलो महत्वपूर्ण दिनलाई काग तिहार भनिन्छ । पाँचदिन सम्म तिहार पर्व अन्तर्गत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ ।
काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । यसवर्ष भनें आजकै दिनमा नर्क चर्तुदशी परेको छ । आजकै दिन त्रयोदशी र चर्तुदशी तिथी परेको र चर्तुदशी पनि परेकाले यो बर्ष को तिहारमा काग र कुकुर तिहार एकैदिन परेको हो ।
काग तिहारमा कागलाई यमराजको सन्देश बाहकका रुपमा पूजा गरिन्छ । काग तिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । काग अर्थात सन्देश प्रवाहक प्राणी, काग करायो भने केही सन्देश या पाहुना आउने जनाउका रुपमा नेपाली समाजमा लिने चलन अझै छ ।
कागलाई विशेषगरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रुपमा लिइन्छ । धर्मशास्त्रहरू अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने गरेको मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेका हुन । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरूलाई बिर्सिएर कागको पूजा गरिन्छ ।
आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । कागतिहारकै दिन समुन्द्र मन्थनका क्षण उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरी दिवस पनि मनाउने चलन थियो तर यसवर्ष चाँही धनवन्तरि जयन्ती एकदिन अगाडि सरेको हो ।
आज यमदीप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास छ । यमदीप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।
काग तिहारमा बिहानैदेखि कागको पूजा गरिन्छ, घरबाहिर विभिन्न खानेकुराहरू पात या दुना टपरीमा कागका लागि भनेर राखिन्छ र वर्षभरि कागले घरआँगनमा सुखद खबर ल्याओस् भनेर कामना गरिन्छ ।