भैरहवा, ६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले भारतीय नाकाबाट प्रवेश गरेका विभिन्न जिल्लाका नेपाली नागरिकहरुको लागि सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा व्यवस्थापन गर्न माग गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति रुपन्देहीका सभापति सागर प्रताप राणाले सोमवार जारी गर्नुभएको विज्ञप्तिमा बेलहिया भारतीय नाकाबाट प्रवेश गरेका रुपन्देहीका नागरिकलाई रुपन्देहीमै व्यवस्थापन गर्न र अन्य जिल्लाका नागरिकहरुलाई सम्बन्धित जिल्लाकै क्वारेन्टाइनमा व्यवस्थापन मिलाउनुपर्ने माग गरिएको छ । यस्तै देश भरी दिनानुदिन कोरोनाको संक्रमण संख्या बढ्दै गएकाले रुपन्देही जिल्ला भरी अधिकतम स्वास्थ्य परीक्षण÷टेष्ट जाँचको ब्यवस्था मिलाउन पनि राप्रपाले माग गरेको छ ।
रुपन्देहीका कृषकहरुले उत्पादन गरेका फलफूल, तरकारीलगायतका उत्पादनलाई स्थानीय बजारमै कृषकहरुलाई पायक पर्ने उपयुक्त स्थान तोकी ब्यापार ब्यवस्थापन गर्न, नेपाली उत्पादन प्रयाप्त नभएमा मापदण्ड पुरा गरी अन्य स्थानवाट आयात गर्न तथा लुम्विनी अञ्चलकै अन्न भकारीको रुपमा परिचित रुपन्देहीका कृषकहरुका लागि उत्पादनका लागि सहज एबम् आवश्यक मलखाद तथा वीउ विजनको अविलम्व ब्यवस्था मिलाउन माग गरिएको छ ।
लकडाउनका कारण आर्थिक स्थिति अस्तब्यस्त पारिरहेको अवस्थामा अति विपन्न मजदुर परिवार एबम् मध्यम वर्गका परिवारलाई समेत अप्ठ्यारो भइरहेकाले सीमालाई अझ वढि कडाईका साथ निगरानी गरी जिल्ला भरी वैकल्पिक आय आर्जनको स्रोत सहित रोजगारी सृजना गर्न राप्रपा रुपन्देहीले माग गरेको छ ।
‘यस महामारीको संक्रमणको लडाईमा मानव जिवनको रक्षाका लागि अग्रपंक्तिमा उच्च मनोवलका साथ खटिएका सम्पुर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार एवम् सबै संघ संस्था प्रति राप्रपा रुपन्देही उच्च सम्मान गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
विश्व ब्यापी रुपमा फैलिएको महामारी कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणबाट सबैले कष्टकर जिवन काटिरहेको र लकडाउनको स्थिति हुंदाहुंदै पनि रुपन्देही जिल्लामा यस महामारी एवम् कष्टकर आम जनजिवनको सहजिकरणका लागि पनि राप्रपा रुपन्देहीले माग गरेको छ ।
