तरकारीले बजार नपाउंदा कृषकहरु चिन्तित
कमल चौधरी
बुटवल, ५ जेठ । रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ७ निवासी गैडहवा कृषि फर्मका संचालक सन्दिप गुप्ताले गैडवा गाउँपालिकाको क्वारेन्टाइनमा तरकारी सहयोग गरेका छन् ।
कोरोना महामारीको विषम परिस्थितिमा “आफू पनि बाचौं अरुलाई पनि बचाउँ र घर भित्र सुरक्षित बसौं” भन्ने उद्देश्यले आफ्नो फर्ममा उत्पादित तराकारीहरु क्वारेन्टाइनमा पुगेर सहयोग गरेको उहांले बताउनु भयो ।
“गैडहवा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका नेपाली दाजु भाइहरुको लागि मैले सानो सहयोग गरेको हुँ । हामी जस्तो सचेत युवाहरुले दुःखको समयमा सहयोग नगरे कसले गर्छ ?” कृषक गुप्ताले भन्नुभयो ।
लुम्बिनी विकास मञ्चका अध्यक्ष समेत रहेका गुप्ताले वि.स. २०७५ सालमा गैडहवा कृषि तथा पशुपालन फर्म दर्ता गरेर व्यवसायिक रुपमा कृषि तथा पशुपालन गर्दै आउनुभएको छ ।
३ विगाह ५ कठ्ठा क्षेत्रफलमा ब्यवसायिक तरकारी खेती गर्दै आउनुभएका गुप्ताले अहिले टमाटर, भिन्डी, करेला, बोडी, काँक्रा, लौका, मुला, साग, बन्दागोभी, खुर्सानी, धनिया, गाजर, चुकुन्दर, साग लगायतका तरकारी खेती गर्नुभएको छ ।
कोभिड–१९ कोरोनाको संक्रमण बढ्दै गएपछि उत्पीडित समुदायका मजदुर, श्रमिक, कृषकहरु अहिले निकै समस्यामा परेका छन् । कतिपय कृषकहरुको उत्पादित तरकारीले बजार नपाउँदा किसानहरुमा समस्या संगै चिन्ता थपिएको छ ।
गैडहवा कृषि फर्मका संचालक गुप्ताले जस्तै अन्य कृषकहरुले आफुले उत्पादन गरेको तरकारी आफ्नै गाउँका उपभोक्ताको घरघरमा र केही छिमेकी पासिलकामा विक्री गर्दै आएका थिए । तर पछिल्लो समय रुपन्देहीका विभिन्न ठाउंमा कोरोना संक्रमित भेटिए संगै स्थानीय पालिकाहरुले एक पालिका देखि अर्को पालिका जान रोक लगाएका कारण किसानहरु यसको मारमा परेका छन् । यसरी समस्यामा परेका कृषकहरुले आफुले उत्पादन गरेको तरकारीले बजार पाउनुपर्ने र यस विषयमा सम्बन्धित स्थानीय सरकार तथा सरोकारवालाहरुले विशेष ध्यान दिनुपर्ने माग गरेका छन् ।
विभिन्न समाजिक संघ संस्थामा समेत क्रियाशिल रहदै गैडहवा कृषि तथा जयमा भवानी कृषक समूहका सचिव समेत रहेका सन्दिप गुप्ताले आफ्नो फर्ममा उत्पादित तरकारी मात्र नभएर गैडहवाका कृषकहरु विजय केवट, आनन्द कुमार गुप्ता, सक्कल कोहार, रजाउद्दिन मुसलमान, समिल खाँन, शम्भु गुप्ता लगायत गैडहवाका कृषकहरुका तरकारी लकडाउनको समयमा बुटवल बजारमा विक्री वितरण गर्र्न सहयोग गर्दै आउनु भएको थियो ।
“स्वदेशमा केही गर्छु भन्ने उद्देश्यले तरकारी खेती गरेको हो । तर कृषकहरुको समस्यालाई सरकारले सम्बोधन गर्न सकिरहेको छैन । कृषकले दुख गरेर उतपादन गरेको तरकारीले सहज बजार नपाउँदा कतिपय कृषकहरुले बाटोमा लगेर तरकारीहरु नष्ट गरे ।” गुप्ताले गुनासो गर्नुभयो ।
लकडाउनका कारण तरकारीले बजार नपाइरहेको अवस्थामा गुप्ताले आईतबार गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवट, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी घिमिरे र गैडहवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष कृष्ण शंकर गुप्ताको समन्वयमा पालिकाको क्वारेन्टाइनमा रहेकाहरुलाई खुवाउन निशुल्क तरकारी हस्तान्तरण गर्नुभएको हो । क्वारेन्टाइनका लागि बोडी, कांक्रो, करेला, खुर्सानी, टमाटर, बन्दागोभी, धनिया, मुला लगायत गरी २०० किलो वढि तरकारी गुप्ताले सहयोग गर्नुभएको छ ।


