बुटवल, ३१ बैशाख । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । मंगलबार एकै दिन ८३ जनामा कोरोना पुष्टि भएकोमा बुधबार २६ जनामा कोरोना पुष्टि भएको छ ।
बुधबार दिउँसो कपिलबस्तु र बाँकेमा एक एक जना गरी दुई जनामा कोरोना पुष्टि भएकोमा साँझ थप २४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार साँझ कोरोना पुष्टि भएका रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीका छन् । उनीहरु सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र ५ नं. प्रदेशको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा आरडीटी परीक्षण गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले सांझ जारी गरेको सूचना अनुसार नयाँ संक्रमितमा रुपन्देही जिल्लाका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षीय पुरुषहरू र ४, १० र २८ वर्षीय महिला छन् । त्यसैगरी कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षीय पुरुष छन् । यस्तै पर्सा निवासी ३६, ७४ वर्षीय पुरुष र ३६ वर्षीया महिला र नवलपरासीका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । सह प्रवक्ता अधिकारीका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।
