पश्चिम नवलपरासीमा पनि संक्रमणको जोखिम बढ्दो
रामकुमार श्रेष्ठ
नवलपरासी, ३१ बैशाख । पश्चिम नवलपरासीको नेपाल भारत सीमा जोडिएको दश गजामा रोकिएका मध्ये ७० जना भन्दा बढीलाई नेपाल भित्र्याइएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले उनीहरुलाई नेपाल भित्र्याएको हो । पछिल्लो समय भारतमा छिटपुट रुपले रेल र सरकारी बस चल्न थाले पछि त्यहांका विभिन्न सहरमा रहेका नेपालीहरु घर फर्कन पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्रका दशगजामा जम्मा भएका थिए ।
कोभिड १९ को सुरक्षा सतर्कता अन्तरगत दुई देश बीचको नाका शिल भएका कारण सयौं नेपाली दशगजामा आएर अड्एिका हुन् । विगत ३–४ दिन देखि जिल्लाको सुस्ता, गुठी प्रसौनी, गेर्मी, भुजहवा लगायतका सिमावर्ती क्षेत्रका दशगजा वरपर ती नेपालीहरु बस्दै आएका थिए ।
देश छिर्ने आशमा सिमामा बस्दै आएका नेपालीलाई नजिकैका नेपाली र भारतीय बस्तीका स्थानीयले जसोतसो खाना खुवाउदै आएका थिए । उनीहरुको अवस्था दिनानुदिन नाजुक हुँदै गएपछि नेपाल भित्र्याइएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।
नेपालीहरुले घर फर्कन सीमामा तैनाथ सुरक्षावल मार्फत स्थानीय प्रशासनमा हार गुहार लगाईरहेकै बेला नेपालमा एक्कासी कोरोना संक्रमण बढे पछि उनीहरु पर्ख या फर्कको स्थितिमा पुगेका थिए ।
सीमामा रहेका सयौं नेपालीलाई उद्धार गरी सुरक्षित स्वदेश फर्काउन जिल्ला प्रशासन हुदै माथिल्लो तहमा आवश्यक समन्वय भई रहेको यहांका सुरक्षा निकायहरुले बताउदै आएका थिए ।
सिमामा अड्किएका नेपालीहरुलाई सुरक्षा सतर्कता अपनाउदै समयमा देश भित्र ल्याउन नसके खुल्ला सिमानाबाट कतिपय लुकिछिपी खेतको बाटो गाउं पुग्ने स्थिति बढ्दै गएको थियो ।
यसैवीच सिमामा नेपालीहरु खाना न पानी र खुल्ला आकाशको भरमा प्रशासनको मुख ताकेर बसिरहन नसक्ने स्थिति बन्दै गएपछि स्थानीय सुस्ता गाउंपालिकाले मंगलबार सांझ ७० भन्दा बढीलाई नेपाल ल्याएर क्वारेन्टाईनमा राखेको छ ।
भारतबाट आई सिमामा अलपत्र नेपालीलाई रेडजोन र अन्यलाई गरी यहांका ७ वटा क्वारेन्टाईन केन्द्रमा राखिएको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताउनुभयो ।
पाण्डेका अनुसार सिमावर्ती पालिका सुस्तामा यस अघि ५ ओटा क्वारेन्टाईन रहेकोमा पछिल्लो समय सीमाको दशगजामा रहेका नेपालीलाई राख्न २ वटा स्कूलमा क्वारेन्टाईन थपिएको हो ।
सुस्ता गाउँपालिकाले क्वारेन्टाईनमा रहेका सवैलाई आवश्यक खाना पानीका अतिरिक्त नियमित स्वास्थ्य जांचको प्रबन्ध गरिरहेको जनाएको छ । यहां क्वारेन्टाईन बस्नेको संख्या १ सय ३१ रहेको छ ।
पालिकाले यस अघि कोभिड १९ रोग नियन्त्रण तथा रोकथामका लागि तेश्रो मुलुक, छिमेकी देश भारत र नेपालकै अन्य भागबाट आउनेलाई गरी तिन किसिमको अलग अलग क्वारेन्टाईन निर्माणको अवधारण ल्याएको थियो ।
प्रदेश ५ अन्तरगत पर्ने पश्चिम नवलपरासीमा अहिलेसम्म कोरोनाको संक्रमण देखिएको छैन । अब उनीहरुको स्वाव परीक्षण समेत गरिने बताइएको छ । उनीहरुलाई नेपाल भित्र्याइएसँगै पश्चिम नवलपरासीमा पनि संक्रमणको जोखिम बढेको छ ।