बुटवल, २८ बैशाख । ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीले तत्काल उद्योग व्यवसाय नखोल्ने निर्णय गरेको छ । संघको आइतबार सम्पन्न आकस्मिक वैठकले सरकारले निर्माणजन्य उद्योग खोल्न दिने निर्णय गरेपनि स्थानीय स्तरमा विभिन्न प्रकारका वाधा अवरोध कायमै रहेका, सरकारबाट उद्योगीका लागि कुनै सुरक्षा व्यवस्था नगरिएको र अव्यवहारिक प्रावधानहरुका कारण उद्योग खोल्न नसकिने निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण उत्पन्न असहजता अन्त्य भई सहज वातावरण सिर्जना भएपछि मात्रै ग्रील तथा स्टिल उद्योगहरु सञ्चालन गर्न सकिने निर्णय भएको संघका जिल्ला अध्यक्ष तुलबहादुर सारुले जानकारी दिनुभयो ।
वैठकमा संस्थापक अध्यक्ष अशोक वर्मा, पुर्व अध्यक्ष डिलबहादुर राना, वरिष्ठ उपाध्यक्ष तुल्सी खनाल, महासचिव रामप्रसाद पाण्डे, रुपन्देही उद्योग संघ, इन्जिनियरिङ वस्तुगत समिति संयोजक महेन्द्र कार्की, सूचना विभाग प्रमुख तुल्सी खनाल, मोहन भट्टराई, ध्रुवमणि ज्ञवाली, विनय खनाल लगायतका उद्योगीको सहभागिता रहेको थियो ।
