दश बेडको आइसोलेसनमा अस्पतालको सबै सुविधा उपलब्ध
तिलोत्तमा, २७ वैशाख । मुलुकमा कोरोना संक्रमितको संख्या बढिरहँदा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा आइसोलेसन सेन्टर निर्माण गरेको छ । कोरोना संक्रमणको पूर्वतयारी अन्तर्गत् तिलोत्तमाले शँकरनगर स्वास्थ्य चौकीमा आइसोलेसन सेन्टर निर्माण गरेको हो ।
स्वास्थ्य चौकीबाट नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं. २ को कार्यालयमा स्थान्तरण गरी स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टरको रुपमा तयार गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । आइसोलेसन सेन्टरको लागि एक जना चिकित्सक र एक जना नर्स नियुक्त गरिएको छ ।
बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शको आधारमा आइसोलेसन सेन्टर निर्माण गरिएको स्वास्थ्य चौकी ईञ्चार्ज केशव भट्टराईले बताउनुभयो । दश बेडको आइसोलेसन सेन्टरमा नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको उहाँले बताउनुभयो ।

तत्काल दश बेड तयार गरिए पनि आवश्यकताको आधारमा थप दश बेड विस्तार गर्न सकिने उहाँले जानकारी दिनुभयो । सेन्टरमा आइसियु र भेन्टिलेटरको सुविधा नचाहिने कोरोनाका बिरामी तथा कोरोना सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिने छ ।
सेन्टरमा बिरामीलाई २४ सैं घण्टा सेवा दिनेगरी स्वास्थ्यकर्मीहरुको व्यवस्थापन हुने चिकित्सक संजोग पाठकले जानकारी दिनुभयो । तिलोत्तमा नगरपालिकाले आफ्नै स्रोतमा दुई जना चिकित्सक तथा एक जना स्टाफ नर्स नियुक्त गरेको छ भने दश वटा स्वास्थ्य संस्थामा झण्डै ८० जना कर्मचारीहरु कार्यरत छन् । बुटवल कोरोना अस्पतालले पठाएका जुन कुनै ठाउँका बिरामीहरुलाई सेन्टरमा राखेर उपचार गरिने डा. पाठकले बताउनुभयो । उहाँका अनुसार सेन्टरमा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र खनाल, कोरोना फोकल पर्सन डा. सुदर्शन थापा र मेट्रोनको सल्लाह—सुझावको आधारमा काम भैरहेको छ ।

नगर प्रमुख बासुदेव घिमिरेले कोरोना महामारीको अन्त्य भैसकेपछि स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गरेर लैजाने गरी तयारी भैरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले थप गरिएका मेडिकल उपकरण तथा भौतिक पूर्वाधारले अस्पताल सञ्चालनमा सहजता ल्याउनेछ ।
तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमण पूर्वतयारी अन्तर्गत् शँकरनगरमैं क्वारेन्टाइन सञ्चालन गरिरहेको छ । हालसम्म क्वारेन्टाइनबाट ९९ जनाले सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ । तिलोत्तमा नगरपालिकाले कोरोनाको कारण गरिएको लकडाउनबाट प्रभावित विपन्न वर्गको लागि तेस्रो चरणको राहत पनि वितरण गरिसकेको छ ।
