बुटवल, २४ बैशाख । प्रदेश नं ५ प्रदेश सभामा गठित भौतिक पुर्वाधार विकास समितिले प्रदेश गौरवका आयोजना लगायतका महत्त्वपूर्ण आयोजनाहरूको काम सामाजिक दुरि कायम गरेर सुचारू गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।
आज (बुधवार) बसेको समितिको बैठकले प्रदेश सरकारले सञ्चालन गरेका प्रदेश सडक र पालिका पहुँच मार्गको काम पनि सामाजिक दुरि कायम गरेर सञ्चालन गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको समिति सभापति आशा स्वर्णकारले जानकारी गराउनु भयो ।
बैठकले आगामी आर्थिक वर्ष २०७७÷०७८ को वजेटमा प्रत्येक निर्वाचन क्षेत्रलाई समेट्ने गरि बृहत्तर योजना बनाई कार्यान्वयन गर्न समेत भौतिक पुर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेकोे छ ।
समिति सचिव सीता घिमिरेका अनुसार प्रदेश सरकार बाट सञ्चालित योजनाहरू सूचिकृत गरेर प्राथमिकताका आधारमा कार्यान्वयन गर्न पनि समितिले निर्देशन दिएको छ ।
संघिय सरकार बाट हस्तान्तरण भई आएका आयोजना कार्यान्वयन नगर्ने प्रदेश सरकारको निर्णय उपयुक्त नभएको भन्दै समितिले ती आयोजना पनि प्राथमिकताका साथ अगाडी बढाउन मन्त्रालयलाई निर्देशन दिएको छ । आगामी आर्थिक बर्षको वजेट विनियोजन गर्दा समानुपातिक रूपमा गर्न पनि समितिले निर्देशन दिएको छ ।
समिति सभापति आशा स्वर्णकारको सभापतित्वमा बसेको बैठकमा प्रदेश सभा सदस्यहरू बिरबहादुर राना, इन्द्रप्रसाद खरेल, नारायणप्रसाद आचार्य, फकरूद्दिन खान,धर्मबहादुरलाल श्रिवास्तव, तारा जिसी, पुष्पा थरूनीलवगायतले आ आफ्नो सुझाव राख्नुभएको थियो ।