काठमाडौं, १७ बैशाख । नेपालमा कोरोना भाइरस सँक्रमितको संख्या ५८ पुगेको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्साका एकजनामा कोरोना पुष्टि भएपछि सँक्रमितको संख्या ५८ पुगेको हो । बुधवार मात्रै बाराका दुई र पर्साका एक पुरुषमा सँक्रमण देखिएको थियो ।
सरकारले परीक्षणको दायरा बढाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ । कोरोना सँक्रमण पुष्टि भएका चारैजना पुरुष भारतबाट नेपाल आई क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सँक्रमण पुष्टि भएकाहरुका कारण समुदायमा सँक्रमण बढेको छैन । अहिले ३९ जना सँक्रमित अस्पतालको आइसोलेशनमा रहेका छन् भने सँक्रमण पुष्टि भएका अन्यलाई पनि अस्पताल ल्याउने तयारी भइरहेको महाशाखाले जनाएको छ । अहिलेसम्म १६ जना पूर्णरुपमा स्वस्थ भएर घर फर्किएका छन् ।