भैरहवा, १ बैशाख । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नम्बर ५ सरकारले स्थापना गरेको राहत कोषमा निर्माण व्यवसायीहरुले रु. १३ लाख रुपैयाँ सहयोग गरेका छन् ।
मुख्यमन्त्री शँकर पोखरेललाई राहतकोषमा जम्मा गरेको रु.१३ लाखको भौचर नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष टोप बहादुर रायमाझीले हस्तान्तरण गर्नुभएको हो ।
मुख्यमन्त्री कार्यालयमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा. रुपन्देहीका जिल्ला कमिटी सचिवालय सदस्य तथा अर्थ विभाग प्रमुख गोपाल रानाले देशलाई परेको संकटको यो घडिमा सबै उद्योग व्यवसायीहरुले नेपाली जनतालाई साथ दिन तयार रहेको बताउनु भयो ।
पेशा व्यवसायी गर्नेहरुलाई पनि लकडाउनका कारण समस्या परेको छ भन्दै रानाले देशलाई संकट बाट मुक्त गराउन सवै उद्योग व्यवसायीहरुलाई सरकार संग हातमा–हात मिलाएर अगाडी बढन आग्रह गर्नुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष बलिभद्र राना, उपाध्यक्ष नबराज श्रेष्ठ, कोषाध्यक्ष त्रिभुवनदत्त मिश्र, निर्माण व्यवासायी प्रदेश नम्बर ५ का सल्लाहकार भिम बहादुुर श्रेष्ठ, लुम्बिनी निर्माण व्यवसायी संघका अध्यक्ष विनय ज्ञवाली, निवर्तमान अध्यक्ष दामोदर शर्मा घिमिरेलगायतले संकटको बेला सबैको साथ र सहयोगले मात्र संकटको समाधान गर्न सकिने बताउनु भयो ।
निर्माण व्यवसायीहरुको आफ्नो कोषबाट संकलन गरेको उक्त रकम प्रदेश सरकारको राहत कोषमा जम्मा गरेका हुन ।
यस्तै लुम्बिनी निर्माण व्यवसायी संघ बुटवल शाखाले बुटवलको धागो कारखानामा निर्मित कोरोना बिशेष अस्पतालमा रु ८ लाख रकम बरावरको १७ वटा शौचालय, ४ वटा स्नान घर र १०० मिटर बाटो समेत निशुल्क निर्माण गरेको लुम्बिनी निर्माण व्यवसायी संघले जनाएको छ ।
देशमा निर्माणको लागि सधै अग्रपंक्तिमा उभिएका निर्माण व्यवसायीहरुले देशलाई संकट परेका बेला आफुहरुले सरकार संग सहकार्य गरेर समस्या समाधान गर्न तयार रहेको पनि बताएका छन् । उनिहरुले आफ्ना कामहरु केहि दिनका लागि बन्द गरेर भएपनि सरकारको कोरोना नियन्त्रण अभियानमा आवश्यकता अनुसार सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।