बुटवल, १ बैशाख । बुटवल उपमहानगरपालिका वडा नं ३ वडा कार्यालयले राहत बितरण गर्दा विभेद गरेको भन्दै राहत बितरणमा विभेद र राजनीति नगर्न नेपाली काँग्रेस वडा कार्यसमिति बुटवल ३ ले वडा कार्यालयको ध्यानाकर्षण गराएको छ । काँग्रेसले विभेद रहित ढ.गले राहत बितरण गर्न समेत माग गरेको छ ।
राहत वितरणमा विभेद गरिएपछि नेपाली काँग्रेसका वडा सभापति रामकृष्ण पछाईले आइतबार वडा कार्यालयलाई ज्ञापन पत्र बुझाउंदै शंकटको बेलामा गरिब तथा बिपन्न परिवारलाई राज्यद्वारा बितरण गरिने राहतमा राजनीति नगर्न र विना भेदभाव राहत बितरण गर्न माग गर्नुभएको छ ।
लकडाउनका कारण समस्यामा परेका विपन्न परिवार, ज्याला मजदुरी गर्ने, भाडामा वस्ने तथा विद्यार्थीहरुलाई राहत बितरणका लागि नामावली संकलन गर्दा टोल विकासका संस्थाका पदाधिकारीहरूले राजनीतिक रूपमा विभेद गरि नामावली संकलन गरेर राहत वितरण गरिएकाले राहत पाउनुपर्नेले नपाएको र नपाउनुपर्ने व्यक्तिहरूलाई राहत वितरण गरिएको भन्दै काँग्रेसले राहत पाउन छुटेका सबैलाई तत्काल राहत वितरण गर्न माग गरेको छ ।
टोल समिति र वडा कार्यालयले राहत बितरणमा विभेद गरेको बिषयमा गत चैत २५ गते नै वडाध्यक्षलाई ध्यानाकर्षण गराए पनि बेवास्ता गरिएको भन्दै ज्ञापनपत्रमा आफुहरूका माग बेलैमा सम्वोधन नगरिए मुलुकको परिस्थिति सहज भएपछि यसका विरुद्ध ससक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ ।


बुटवल उपमहानगरपालिका प्रमुखलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा गरिव, विपन्न परिवारलाई राहतका नाममा दिइएको प्रति ब्यक्ति ३ किलो चामल अत्यन्तै न्यून भएकाले त्यसलाई बढाउन पनि काँग्रेसले माग गरेको छ ।