भैरहवा, २४ चैत । भैरहवामा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रुपन्देहीका ३ वटा पालिकामा रहेका कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा ५१ हजार नगद सहित स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
कोरोनाको उच्च जोखिमबाट बच्न र संक्रमण फैलिन नदिन रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, मायादेवी गाउँपालिका र रोहिणी गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा सहकारीले सहयोग गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीको प्रधान कार्यालय रहेको सिद्धार्थनगर तथा सम्पर्क कार्यालय रहेका मायादेवी र रोहिणी गाउँपालिकामा मास्क सहित नगद रकम सहयोग गरिएको सहकारीका अध्यक्ष बसन्तकुमार लालकर्णले जानकारी दिनुभयो ।
सिद्धार्थनगर नगर पालिकाको बिशेष बिपद् ब्यवस्थापन कोषमा २१ हजारको चेक सहित १ सय थान मास्क, मायादेवी गाउँपालिकामा १५ हजार नगद सहित १ सय थान मास्क र रोहिणी गाउँपालिकामा पनि १५ हजारको चेक सहित १ सय थान मास्क प्रदान गरिएको अध्यक्ष कर्णले बताउनुभयो ।
बिपद परेको बेला आफ्ना शेयर सदस्य रहेका स्थानमा एकद्वार प्रणालीबाट राहत प्रदान हुने विश्वासका साथ नगद सहित स्वास्थ्य सामाग्री प्रदान गरिएको संंस्थाका उपाध्यक्ष बेचनप्रसाद गुप्ताले बताउनुभयो ।
रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले अहिले पालिकाले स्थापना गरेको बिपद् ब्यवस्थापन कोषमा गाउँपालिकाको तर्फबाट ५१ लाख रकम पु¥याईएको बताउनुभयो । उहांले सहयोग गरेकोमा सहकारी संस्थालाई धन्यवाद ज्ञापन गर्दै गाउँपालिकाको एकल प्रयासले मात्र बिपद्को समयमा सबैलाई राहत प्रदान गर्न असमर्थ भएकोले सबैलाई कोषमा रकम जम्मा गरेर सहयोग गर्न आग्रह गर्नुभएको छ ।
रोहिणी गाउँपालिकाको कोषमा हिमचुली सहकारी सहित गाउँपालिकामा रहेका ईट्टा उद्योगहरुबाट ८१ हजार नगद तथा स्थानिय ब्यक्ति भोलाप्रसाद क्षेत्री र पवन कुमार मिश्रबाट जनही ५ हजार ५ सयका दरले सहयोग प्राप्त भएको अध्यक्ष यादवले बताउनु भयो ।