बुटवल, २४ चैत । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा २५ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । सोमबार मुख्यमन्त्री कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, बैंकका पुर्व अध्यक्ष थानेश्वर पौडेल, सञ्चालक डा. ताराप्रसाद उपाध्याय र मोहन चापागाईले मुख्यमन्त्री शँकर पोखरेललाई उक्त रकम बराबरको चेक प्रदान गर्नुभएको हो ।
प्रदेश सरकारले १० करोड रुपैयाँ जम्मा गरेर स्थापना गरेको उक्त कोषमा निजी क्षेत्रबाट हालसम्म सबैभन्दा धेरै रकम दिने संस्थामा शाइन रेसुंगा बैंक रहेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीले जानकारी दिनुभयो । प्रमुख ज्ञवालीका अनुसार उक्त कोषमा बैंक, सहकारी र निजी क्षेत्रका संघसंस्थाले हालसम्म ९१ लाख रुपैयाँ जम्मा गरेका छन् ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण र संक्रमितको उपचार सरकार एक्लैले गर्न नसक्ने हुंदा निजी क्षेत्रको साथ र सहयोगको खांचो रहेको बताउनुभयो । उहांले प्रदेश ५ मा डाक्टर र अन्य स्वास्थ्यकर्मीका लागि पीपीई लगायत सुरक्षा सामाग्री अझै पर्याप्त नभएकाले त्यस्ता सामाग्री सरकारलाई उपलब्ध गराउन निजी क्षेत्रसंग आग्रह गर्नुभयो ।
बैंकका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले अस्पतालहरुलाई स्वास्थ्य सुरक्षा सामाग्रीहरु पनि बैंकले उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो । प्रदेश ५ का पांँचवटा विकास बैंकहरु मिलेर प्रदेशकै पहिलो राष्ट्रियस्तरको विकास बैंक बनेको शाइन रेसुंगाको अधिकृत पूँजी ५ अर्ब र चुक्ता पूँजी दुई अर्ब ६२ करोड रहेको छ । बैंकका प्रदेश ५, बागमती प्रदेश र गण्डकी प्रदेशमा गरी ७० वटा शाखा कार्यालय र चार लाख भन्दा बढी ग्राहक रहेका बैंकका वरिष्ठ प्रवन्धक लालमणि पन्थीले जानकारी गराउनुभयो ।