रमेश अर्याल
बुटवल, २४ चैत । कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिम बाट बच्न र यसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गर्ने, गरिव तथा विपन्न परिवारलाई विभिन्न सामाजिक संघसंस्थाले राहत वितरण गरेका छन् । सांझ विहानकै छाक टार्न समस्यामा परेका यस्ता वर्गलाई स्थानीय निकायले वडालगत लगत संकलन गरी राहत बांडेपनि स्थानीय निकायले समेट्न नसकेका र लकडाउनका कारण हातमुख जोर्न समस्यामा परेका नागरिकलाई सामाजिक संघसंस्थाहरुले सहयोग गरेका छन् । यस्तो बेला सहयोग गर्नु सबैको साझा दायित्व र कर्तब्य भएकाले सामाजिक गतिविधि र मानविय सेवामा संलग्न संघसंस्थाहरु यतिवेला ज्यालादारी गर्ने, गरिव तथा विपन्न परिवारको पहिचान गरी राहत वितरण गर्ने कार्यमा जुटेका छन् ।
सामाजिक उत्तरदायित्व र मानविय सेवाभाव प्रकट गर्दै बुटवलको पुरानो संस्था बुटवल जेसीजले लकडाउनका कारण प्रभावित वर्गलाई राहत सामग्री वितरण गरेको छ । जेसीजले बुटवल उपमहानगारपालिका वडा नम्वर ३ को सहर्ष पथ र वडा नम्वर १३ मा रहेको कुष्ठरोग आश्रममा ८५ हजार मुल्य बराबरको खाद्यान्न सामाग्री वितरण गरेको हो ।
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको कारण हातमुख जोड्ने समस्यामा परेका दैनिक ज्यालादारी गर्ने मजदुर, श्रमिक, गरिव तथा आर्थिक रुपमा विपन्न सहर्ष पथका ८० परिवारलाई खाद्यान्न वितरण गरिएको बुटवल जेसीजले जनाएको छ । प्रत्येक घरधुरीलाई २० किलो चामल वितरण गरिएको बुटवल जेसीजका महासचिव हरिविक्रम कुवँरले जानकारी दिनु भयो । यस्तै कुष्ठरोग आश्रममा एकमुष्ठ ४० किलो चामल वितरण गरिएको छ ।
दिगो विकास लक्ष्यको शुन्य भोक अन्तरगत बन्धुत्वको भावना र मानवियताको हिसावले खाद्यान्न वितरण गरिएको बुटवल जेसीजका अध्यक्ष राजिव गौतमले जानकारी दिनुभयो । विहान बेलुका छाक टार्न समस्या भएका परिवारलाई दुइचार दिन भए पनि खानाको अभाव नहोस भनेर चामल वितरण गरिएको उहाँले बताउनु भयो ।
बुटवल जेसीजका अध्यक्ष राजिव गौतम, महासचिव हरिविक्रम कुँवर, उपाध्यक्ष विनोद घिमिरे, आविश्कार खनाल, कार्यक्रम संयोजक छायाँ पोख्रेल, नेपाल जेसीजका कानुनी सल्लाहकार राजेन्द्र घिमिरे, सल्लाहकार कृष्णदेव भण्डारी, वडा सदस्य सुमित्रा विक, टोल विकास समितिका सदस्य नामदेव न्यौपाने, समाजसेवि रामबहादुर कार्की, लेसमान श्रेष्ठलगायतले खाद्यान्न वितरण गर्नुभएको हो ।
लाफा समूहद्वारा एक सय घरलाई खाद्यान्न वितरण
खेलकुदसंगै सामाजिक गतिविधिमा अग्रसर रहेको बुटवलको लाफा समूहले दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने एक सय परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
लकडाउनको अवधि थप हुदै जांदा समस्यामा परेका बुटवल –११, सत्यवती (विनापाते) टोल समितिका ७० र वडा नं ८ का ३० गरि एक सय घरधुरीलाई लाफा समूहले १५ किलो चामल, २ किलो दाल, १ लिटर तेल र एक पोका नुन वितरण गरेको हो ।
उक्त खाद्यान्न सामाग्री ज्यालादारीमा जीविकोपार्जन गर्ने श्रमिकका घरपरिवारलाई प्रदान गर्ने गरी बुटवल वडा नम्वर ८ का अध्यक्ष भिमबहादुर श्रेष्ठ र सत्यवती टोल समितिका अध्यक्ष भिम बहादुर केसीलाई हस्तान्तरण गरिएको थियो । लाफा समूहका संरक्षक बासुदेव लामिछाने मगरले अहिलेको कठिन समयमा लाफा समूहले सामाजिक कार्यमा योगदान दिएको बताउनुभयो । समूहका प्रत्येक सदस्यबाट १५ सयका दरले सहयोग संकलन गरी खाद्य सामाग्री खरिद गरी हस्तान्तरण गरिएको समूहका अध्यक्ष तारा रेश्मीले बताउनुभयो ।
यसैगरि लकडाउन अबधिमा यहांका विभिन्न अस्पतालमा औषधि उपचार गराइरहेका बिभिन्न जिल्लाका ४ जना विरामीहरुलाई बिभिन्न गु्रपको १२ पोका रगत उपलब्ध गराएको र अन्य बिरामीहरुलाइ रगतको आवश्यकता परे समूहमार्फत रक्तदान गर्ने ब्यवस्था गरिएको समूहका उपाध्यक्ष पुरन गाहाले बताउनुभयो ।
लाफा समूहसंगै ज्ञानी पोलि टैंकका संचालक रन्जन कसजुबाट २ क्विन्टल चामल, इमान होटल चरङ्गेबाट ५० किलो र चिरञ्जिवी थैवबाट २५ किलो चामल सहयोग प्राप्त भएको समूहले जनाएको छ ।
खेलकूदका गतिविधि संचालन गर्दै आएको लाफा समूहले केही महिना अघि प्रदेश ५ कै ठूलो पुरस्कार राशीको व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको थियो । समूहमा ८५ जना सदस्य आवद्ध रहेका छन् ।
सिलाई व्यवसायीद्धारा खाद्यान्न वितरण
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देही र बुटवल उपमहानगर समितिले आईतबार कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न तथा श्रमजिवी नागरिकलाई राहत वितरण गरेको छ ।
बुटवल उपमहानगरभित्र सिलाई पेशा गरेर जीविका चलाएका र दैनिक मजदुरी गरेका बुटवल उपमहानगर वडा न. ८ र ११ का ७५ विपन्न श्रमिक परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो । बुटवल उपमहानगरपालिका वडा न. ८ मा वडाअध्यक्ष भिम बहादुर श्रेष्ठको रोहवरमा ४० परिवारलाई प्रति परिवार १० किलो चामल, १ लिटर तेल, २ किलो दाल, एक किलो आलू, आधाकिलो स्वयाविन, १ किलो नून र २ पोका चाउचाउ तिवरण गरिएको संघका अध्यक्ष सुभाष परियारले जानकारी दिनुभयो ।
यसैगरि वडा न. ११ मा वडा कार्यपालिका सदस्य माया दर्नालको रोहवरमा ३५ परिवारलाई खाद्यान्न तिवरण गरिएको छ । संघ रुपन्देहीका अध्यक्ष सुभाष परियार, बुटवल उपमहानगरका अध्यक्ष राजेन्द्र यादव, व्यवसायीहरु सुवर्ण परियार, रमेश आब्जु, तिलक बस्नेत, विष्णु बस्नेत लगायतले खाद्य सामाग्री प्रदान गर्नुभएको थियो ।