बुटवल, २३ चैत । प्रदेश ५ सरकारले कोरोना भाइरस (कोभिड–१९) संग सम्वन्धित प्रदेशभरका सूचना संकलन र सम्प्रेषण गर्न मोवाइल एपको निर्माण गरेको छ । यस एपलाई आफ्नो मोबईलमा डाउनलोड गरी साईन अप गरेपछि कोभिड–१९ बारे आफ्नो तथा अरुको बारेमा विवरण पठाउन सकिने विशेषता रहेको छ । यस्तै यस एप मार्फत लोकेशन सहितको स्वास्थ्य विवरण संकलन हुने भएकोले स्वास्थ संस्थाहरूलाई सम्बन्धित व्यक्ति बस्ने स्थानसम्म पुग्न मद्धत पुग्ने र कोभिड–१९ संग मिल्ने लक्षण देखिएका व्यक्तिहरूका विवरण पठाई उपचार तथा व्यवस्थापनमा मद्दत गर्न सकिने छ ।
विदेशबाट नेपाल आएका व्यक्तिहरू क्वारेनटाईनमा बसे नबसेको विवरण समेत एप मार्फत पठाउन सकिने र धेरै ठाउँमा मानिसहरु विदेशबाट आएर पनि सरकारी निर्देशन अनुरुप क्वारेनटाईनमा नबस्ने घटनाहरु सार्वजनिक भईरहेका र यस्ता कृयाकलापले आफुलाईमात्र नभई समाजलाईनै खतरा पुग्न सक्ने विज्ञहरुको सुझाव छ । त्यसैले आफ्नो छरछिमेकमा त्यस्तो अवस्था भएको देखेमा यस एप मार्फत रिपोर्ट गर्न सकिने छ ।
साथै यस एपबाट कोभिड–१९ सम्वन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तथ्याङ्क एवं समाचारहरूसमेत प्राप्त गर्न सकिने र यस एप मार्फत संकलन हुने विवरणले कोभिड–१९ विरुद्ध प्रदेशको स्वास्थ्यको विश्लेषणात्मक योजनामा मद्धत मिल्ने मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरवहादुर केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा प्रदेश ५ का सम्पुर्ण बासिन्दाहरूमा यस एपमार्फत आफ्नो, परिवारको र छरछिमेकको कोरोना भारस (कोभिड–१९)संग संवन्धित विवरण पठाउन प्रदेश सरकार, प्रदेश ५ ले अनुरोध गर्दछ भनिएको छ । यस एपमार्फत संकलन भएका सबै सूचना गोपनियताका साथ राखिने पनि विज्ञप्तिमा उल्लेख छ ।
यो एप प्रदेश नं. ५ मुख्यमन्त्री पोर्टल http://cm.p5.gov.np मा गई डाउनलोड गर्न सकिने छ भने भोली देखि गुगल प्ले स्टोरमा समेत उपलव्ध हुने जनाईएको छ ।
