एक दिनमा १६ नमुना परीक्षण गर्न सकिने प्रयोगशाला आजदेखि सञ्चालनमा आउने
भैरहवा, २३ चैत । रुपन्देहीको ओमसतिया गाउँपालिकाको गहुंबाली केन्द्र परिसरमा स्थापना गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला (कोरोना भाइरस परिक्षण प्रयोगशाला) आजदेखि सञ्चालनमा आउने भएको छ ।
प्रयोगशालामा आवश्यक स्वास्थ्य उपकरण जडानसंगै अन्य बाँकी काम सकेर आज साँझदेखि प्रयोगशाला सञ्चालनमा आउने सो कार्यमा खटिएका विज्ञ सहितको प्राविधिक टोलीले जनाएको छ । टोली शनिवारदेखि नै यो काममा खटिएको छ ।
आजदेखि नै नमुना परिक्षण गर्ने योजना अनुरुप काम भैरहेको प्रदेश ५ जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र कुमार गिरीले बताउनु भयो । डा. गिरीका अनुसार आज प्रयोगशालामा प्रयोग हुने सामग्रीको क्वालिटी कंट्रोल तथा स्ट्यान्डर टेष्ट गरेपछि मात्र ल्याब परिक्षण कार्य सुरु हुने छ ।
प्रयोगशालामा क्वालिटी कंट्रोल तथा स्ट्यान्डर टेष्टका लागि प्रदेश ५ मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले बिष्नु रायमाझीलाई तोकेको थियो । जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. गिरीका अनुसार प्रयोगशालामा अहिले लुम्बिनी प्रादेशिक अस्पतालका सुमन सापकोटा र आशिष श्रेष्ठ सहितको टोलीले काम गरिरहेको छ ।
प्रयोगशाला सञ्चालनमा आएपछि एक पटकमा १६ बटा सम्म नमुना परीक्षण गर्न सकिने र आवश्यक परे यसको क्षमता बढाउदैं लगिने डा. गिरीले जानकारी गराउनु भयो ।

यसअघि कोरोनाका सम्भावित तथा शंकास्पद विरामीको नमुना बुटवलमा संकलन गरी परिक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाउदा परिक्षणको रिपोर्ट आउन ढिलाई भएकाले छिटो छरितोका लागि रुपन्देहीमै प्रयोगशाला स्थापना गरिएको हो । यसपछि कोरोना भाईरस (कोभिड–१९)को परिक्षणको दायरा बढाउँदै क्रमशः दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अस्पतालमा कोरोना प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परिक्षण शुरु गरिने डा. गिरीले जानकारी गराउनु भयो ।