बुटवल, २० चैत । केहि दिन अघि बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा पाल्पाका बाबुराम थापाको उपचार अभावमा मृत्यु भएको भन्दै नेपाल तरुण दल रुपन्देहीले उचित क्षतिपुर्तिको माग गरेको छ । उनको रिपोर्टमा कोरोना भाईरस नेगेटिभ देखिएपछि उक्त अस्पतालमा किन लगिएको भन्ने प्र्रश्न गम्भिर रुपमा उठेको भन्दै थापाको मृत्युको कारण दिन नसक्ने अस्पताल प्रशासन, प्रदेश र स्थानीय सरकारको गम्भिर लापर्वाही देखिएको तरुण दलको आरोप छ ।
तरुण दलका जिल्ला सचिव रमेश शाहीद्वारा जारी विज्ञप्तिमा तत्काल पीडित परिवारलाई उचित क्षतिपुर्ति दिन माग गरिएको छ । आर्थिक हिसावले समेत निकै कमजोर परिवार र सबैलाई पाल्ने अभिभावक गुमाएको अवस्थामा श्रीमती र वच्चाहरुको समेत विचल्ली भएकोले तत्काल यो विषयमा सरकारी सम्वेदनशिलता देखिन जरुरी रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै कोरोना विशेष अस्पतालमा पुर्वाधार विना विरामीहरु राख्ने र उनीहरुले उपचार नै नपाउने विषयमा आफुहरुको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

भारतिय सिमानाकाहरुमा रोजगारीका लागि गएका नेपालीहरुको विचल्ली भएको अवस्थामा उनीहरुको उद्धार र स्वास्थ्य उपचारका विषयमा गम्भिर बन्न तरुण दलले विज्ञप्ति मार्फत सरकारलाई ध्यानाकर्षण गराएको छ ।