गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा विरामीको चांप
बुुटवल, १९ चैत । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको कारण विश्व यतिबेला आक्रान्त बनेको छ । चिनको वुहान हुंदै भारत सहित विश्वका दुईसय भन्दा बढि देशमा फैलिएको कोरोनाले नेपालमा सन्त्रास बढाएको छ ।
कोरोनाको संक्रमण फैलिएपछि अरु रोगका विरामीहरुको उपचार समेत अहिले प्रभावित बनेको छ । एकातर्फ व्यक्तिगत सुरक्षाका सामाग्रीको अभावमै सामान्य मौसमी ज्वरो र रुघाखोकीका विरामीलाई पनि कोरोनाकै आशंकाले उपचार गर्न स्वास्थ्यकर्मीहरु नै डराईरहेको अवस्था छ भने अर्कोतर्फ अस्पतालहरुमा आवश्यक औषधीहरुको अभाव श्रृजना भईसकेको छ ।
औषधी तथा उपकरणको अभावका कारण मृगौलाको डायलाईसिस गर्नुपर्ने अवस्थाका विरामीहरु सबैभन्दा बढि मारमा परिरहेका छन् । एकातर्फ सरकारले घोषणा गरेको लकडाउनको कारण विरामीहरु डायलाईसिस गर्न अस्पताल सम्म आईपुग्न सवारी साधनको अभाव छ भने अर्कोतर्फ अस्पतालहरुमा औषधी अभाव भएकोले नियमित डायलाईसिस गराईरहेका बिरामीहरु अस्पतालहरुबाट फिर्ता जाने गरेका छन्
गौतमबुद्ध सामुदायिक मुटु अस्पताल मार्फत बुटवल, दाङको लमही र पाल्पाको तानसेनमा ४० वटा मेसिनबाट नियमित ३ सय ५० जनाको नियमित डायलाईसिस गराउंदै आएका अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार बुटवलमा २० वटा, पाल्पामा १० र लमहीमा १० वटा मेसिन बाट ३ सय ५० जनाको नियमित डायलाईसिस गराउंदै आएकोमा कोरोना भाइरसको संक्रमण फैलिएसंगै अन्य अस्पतालमा डायलाईसिस गराउंदै आएका विरामीहरुपनि थप भएका छन् । लकडाउन भएपछि बुटवलमा दुई सिफ्ट मेसिन संचालन गरी डायलाईसिस गर्दै आएको मुटु अस्पतालले मंगलबारदेखि अरु अस्पतालका विरामीहरु समेत थप भएपछि रातीको समयमा समेत डायलाईसिस गर्न शुरु गरेको अस्तालका अध्यक्ष एजाज आलमले बताउनु भयो ।
यसअघि डायलाईसिस गराउंदै आएका अस्पतालहरुमा औषधीहरुको अभावका कारण डायलाईसिस गराउन नसकेका विरामीहरुले आफुलाई पायक पर्ने बुटवल, पाल्पा र लमहीमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले संचालन गरेको मृगौला डायलाईसिस सेन्टरबाट सेवा लिन सक्ने गरी ब्यवस्था मिलाइएको अध्यक्ष आलमले बताउनु भयो । अध्यक्ष आलमले गौतमबुद्ध सामुदायिक मुटु अस्पताल विरामीहरुको सेवामा सदैव सक्रिय र समर्पित रहने समेत उल्लेख गर्नुभयो ।