भैरहवा, ५ चैत । भैरहवा–भुमही सडक खण्डमा पर्ने धकधई नजिकैको रमणिय स्थलमा आजभोली युवा युवतीहरुको भिड लाग्ने गरेको छ । केहीदिन सम्म सामान्य जस्तै देखिने यो क्षेत्र स्थानीय युवा युवतीका लागि मात्र नभएर जिल्ला बाहिरका युवा युवतीहरुकालागि पनि आकर्षणको केन्द्र बनेको छ ।
रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ धकधईमा भैरहवाका ब्यवसायी राजिव बेरीवालले लगाएको लहरे पिपलको बगैंचा अहिले सामाजिक सञ्जालमा निकै भाईरल बनेको छ । बसन्त ऋतुको आगमन संगै लहरे पिपलमा यतिबेला पालुवा पलाउन थालेका छन् भने पिपलको पालुवा र बगैंचाले सबैलाई आकर्षित गरेको छ भने यसले धेरै युवा युवतीहरु मन्त्र मुग्ध भएका छन् ।
यसका साथै आकर्षक रुपमा एउटै लाईनमा रोपिएको पिपलका बोटले पनि सो क्षेत्र थप आकषक देखिएको छ । रुपन्देहीको भैरहवा, बुटवल, मुर्गिया, देवदह, मणिग्राम, लुम्विनी लगायत नवलपरासी, कपिलवस्तु र चितवन सम्मका युवा युवतीहरु यो क्षेत्रमा आउने, रमाउने गर्नुका साथै मनोरन्जनका लागि टिकटक, फेसबुक लगायतमा आफ्नो फोटो र भिडियो बनाएर पोष्ट गरि रहेका छन् ।
सामाजिक सञ्जालबाट नै यो ठाउँको बारेमा थाहा पाएको धेरैले प्रतिक्रिया दिने गरेका छन् । उनीहरुले यो ठाउँमा बिदेशको जस्तो दृश्य आउने भएकोले पनि धेरैका लागि आकर्षणको केन्द्र बनेको छ ।
यो क्षेत्रमा युवा युवतीहरु धेरै आकर्षित हुन थाले पछि रोहिणी गाउँपालिका यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यसको प्रवद्र्धनमा जुटेको छ । रोहिणी गाउँपालिका सामाजिक सञ्जालकै माध्यमबाट भए पनि देश बिदेशमा चिनिएकोमा यहांका स्थानीय पनि खुशी भएका छन् ।
गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले सो जग्गा ब्यक्तिगत भए पनि यहां आन्तरिक पर्यटकको आगमन बढेकाले यहां विदेशी पर्यटकहरुलाई समेत आकर्षित गर्नेगरी सो क्षेत्रमा गाउापालिकाले खानेपानी र शौचालयको ब्यवस्था गर्ने र यसलाई थप ब्यवस्थित बनाईने बताउनु भयो ।
यसको प्रचार प्रसार संगै यस क्षेत्रमा युवा युवतीहरुको आवागमन अझै बढ्न सक्ने भएकाले यस क्षेत्रमा भरपर्दो सुरक्षाको प्रवन्ध र गलत खालका गतिविधि हुन नदिने दायित्व पनि गाउँपालिकाको भएकाले यसका लागि पनि गाउँपालिकाको ध्यान केन्द्रित भएको अध्यक्ष यादवले बताउनु भयो ।