बुटवल, २६ फागुन
लायनेश क्लव अफ बुटवलले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा उपचाररत दुई जना महिलालाई आर्थिक सहायता प्रदान गरेको छ । क्लवमा स्थापित स्व. ज्ञानुदेवी अक्षयकोषबाट अस्पतालमा उपचाररत गैडहवा ७ रुपन्देहीकी २५ वर्षीय प्रतिमा थारु र शुद्धोधन ५ कपिलबस्तुकी २० वर्षीय जैनक खातुनलाई जनही ७ हजार ५ सय रुपैंया आर्थिक सहायता प्रदान गरिएको क्वलकी अध्यक्ष पुजन श्रेष्ठले जानकारी दिनुभयो ।
गैडहवा ७ की प्रतिमा गत २३ गते प्रसुतीकालागि अस्पतालमा भर्ना हुनु भएको थियो भने कपिलबस्तुकी जैनक गत १९ गते अस्पतालमा भर्ना हुनुभएको र बिरामीको पृष्ठभूमि हेर्दा आर्थिक अवस्था निकै कमजोर देखिएको आम्दाकी मेट्रोन सुशिला विश्वकर्माले जानकारी गराउनु भयो । क्लवले अस्पतालले गरेको सिफारिसका आधारमा आर्थिक सहायता प्रदान गर्ने गर्दछ । त्यससंगै क्लवले अस्पतालमा रहेका अन्य बिरामीलाई पोषण आहार वितरण गरेको थियो ।
स्वर्गीय ज्ञानुदेवी कसजुको स्मृतिमा उहाँका छोरा ज्ञानेन्द्र कसजुले सन् २००५ मा उक्त अक्षयकोष स्थापना गर्नुभएको थियो । उक्त अक्षय कोषबाट लायनेश क्लवले प्रत्येक नारी दिवसमा आम्दा अस्पतालमा उपचाररत गरिव तथा विपन्न महिला बिरामीलाई आर्थिक सहायता प्रदान गर्दै आएको छ ।
त्यस अवसरमा बोल्दै अस्पतालका निमित्त निर्देशक केशवराज शर्माले विपन्न बिरामीलाई आथिर्क सहायता प्रदान गर्नकालागि आम्दा रोजेकामा आभार सहित क्लवलाई धन्यवाद व्यक्त गर्नुभयो । क्लवकी अध्यक्ष पुजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव अफ बुटवलका अध्यक्ष नरेशकुमार श्रेष्ठ, संस्थापक सचिव तथा पूर्वअध्यक्ष जीवनप्रसाद वझा, पूर्वअध्यक्ष ज्ञानेन्द्र कसजु, कार्यक्रम संयोजक कामना वझा, क्लवकी सचिव मीना श्रेष्ठ, रमा राजभण्डारी लगायतले भनाई राख्नुभएको थियो ।
