बुटवल २३ फागुन
रुपन्देहीको तिलोत्तमामा खाद्य मेला सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको मुख्य आयोजना र तिलोत्तमा नगरपालिकाको सहआयोजनामा तिलोत्तमाको कोटिहवास्थित पशुपति माविको प्रांगणमा शुक्रवारदेखि खाद्य मेला सुरु भएको हो ।
आम उपभोक्तामा खानी बानीको सुधार तथा परम्परागत खानाको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित मेलाको पुर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य छविलाल विश्वकर्माले उदघाटन गदै खाद्य मेलाले उत्पादनको बजारीकरण, व्यापार बिस्तार र प्रचारप्रसारमा सहयोग पुग्ने बताउनु भयो ।
गुणस्तरीय खाद्य उत्पादनबाट लाभ लिन र खानेबानीमा सुधार गर्न उपभोक्तालाई आग्रह गर्दै उहाँले आफ्नो आचरणलाई समयानुकुल परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिनु भयो । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले अल्प प्रयोगमा भएका तथा पौष्टिक आहारका बारेमा जनताले खाद्य मेलाबाट जान्ने अवसर प्राप्त गर्ने बताउनु भयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निमित्त महानिर्देशक राकेश त्रिपाठीले परम्परागत र पोषिला खानाको उपभोगले मानिस स्वस्थ हुने भएकाले यस्ता खालका खाद्य मेलाले उपभोक्तालाई पोषिलो खानेकुराको बारेमा जानकारी हासिल हुने बताउनु भयो ।
मेलामा स्थानीय रुपमा उत्पादन तथा उपलब्ध हुने परम्परागत र पोषिला खानाका बारेमा जानकारी गराइने छ । “परम्परागत पोषिलो एवम् स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल खानाका लागि खाने बानीमा सुधार गरौं” भन्ने मूल नाराका साथ सुरु मेला फागुन २५ गतेसम्म चल्ने छ ।
मेलामा खाद्य सम्बन्धी विभिन्न प्रकृतिका ६० वटा स्टल रहेका छन् ।