बुटवल, २१ फागुन
रुपन्देहीको तिलोत्तमामा शहिद यावदनाथ आलोकको स्मृतिमा फूटसल प्रतियोगिता हुँदैछ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा जीवन आहुती दिने आलोकको स्मृतीमा बिहिबारदेखि हुने प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल तिलोत्तमा नगर समितिको आयोजनामा गरिएको प्रतियोगितामा तिलोत्तमा नगरपालिका भित्रका १७ वडाका १७ टिम, तिलोत्तमा नगर समिति, बुटवल नगर समिति, क्षेत्रीय समिति र जिल्ला समिति गरि २१ टिमले प्रतिस्पर्धा गर्ने नेपाल तरुण दल तिलोत्तमा नगर समितिका अध्यक्ष खिम क्षेत्रीले जानकारी दिनुभयो । शहिदको सम्मान पनि हुने र युवाहरुलाई खेलकुदका माध्यमबाट सत्मार्गमा हिडाउनकालागि पनि प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनु भयो ।
तिलोत्तमा नगरपालिका वडा नं. ९ मंगलापुर स्थित फ्रेन्डस विस्ट्रो स्पोट्समा यहि फागुनको २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेतालाई ३० हजार रुपैंयाँ र उपविजेतालाई १५ हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड र प्रमाण पत्र प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट किप्पर, उत्कृष्ट हाईस्कोर र उत्कृष्ट खेल प्रदर्शन गर्ने तीन जनालाई जनही २ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने प्रतियोगिताका संयोजक खर्जुन क्षेत्रीले जानकारी गराउनु भयो ।
प्रतियोगिताको बारेमा जानकारी गराउनकालागि बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा त्यसबाहेक आयोजक र पत्रकारकाबिचमा मैत्रीपूर्ण फूटसल खेल हुने नेपाल तरुण दल तिलोत्तमा नगर समितिका सचिव होम पौडेलले जानकारी गराउनु भयो । प्रतियोगिता सम्पन्न गर्नकालागि २ लाख ६० हजार रुपैंया लागत अनुमान गरिएको र प्रथम पुरस्कार तरुण नेता कुमार दुवेले प्रदान गर्नुभएको अध्यक्ष क्षेत्रीले बताउनु भयो ।
