बुटवल २१ फागुन
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले घरमा खरको छानो भएका नगरबासीलाई टिन दिएर खरको छानोमुक्त नगर बनाउने भएको छ । आर्थिक अभावको कारण खरको छानोमुनि बस्न बाध्य नगरबासीको राहतका लागि नगरपालिकाले खरको छानोमुक्त अभियान चलाउने भएको हो ।
नगर कार्यपालिकाको ८० औं बैठकले खरको छानो प्रतिस्थापन कार्यक्रम सञ्चालन गर्न उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा कार्यपालिका सदस्य कृष्णप्रसाद पौडेल र नारायण न्यौपाने सदस्य रहेको कार्यदल गठन गरेको छ । कार्यदलले नगरपालिकामा रहेका खरको छानोयुक्त घरको लगत संकलनपछि वडा समितिको निर्णयअनुसार सिफारिस भई आएका घरधुरीलाई जस्तापाता उपलब्ध गराउनेलगायतका काम गर्नेछ ।
नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा खरको छानो प्रतिस्थापन कार्यक्रमका लागि तीस लाख रुपैंयाँ बजेट विनियोजन गरेको छ । कार्यपालिका बैठकले कार्यक्रमका लागि अपुग बजेट अर्को आर्थिक वर्षमा व्यवस्था गरेर भए पनि नगरलाई खरको छानोमुक्त नगरपालिका बनाउने निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।
तिलोत्तमामा अझै पनि ठूलो संख्यामा खरको छानो भएका घरहरु छन् ।
नगरपालिकाभित्रका निम्न वर्गका परिवार, जो टिन लगाउन नसकी खरको छानामुनि बसिराख्नुपरेको छ, तिनलाई लक्षित गरेर अभियान सुरु गर्न थालिएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो ।
यसैबीच तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको जोखिमलाई रोक्न हात मिलाउनुको साटो नमस्कार संस्कृतिलाई अनुसरण गर्न नगरबासीलाई आह्वान गरेको छ । कार्यपालिका बैठकले स्वास्थ्य शाखाले तयार पारेको कोरोना जोखिम पूर्वतयारी योजनालाई स्वीकृत गर्दै नगर प्रमुखको संयोजकत्वमा पूर्वतयारी निर्देशक समिति गठन गरेको छ । समितिमा उपप्रमुख जागेश्वरी चौधरी, कार्यपालिका सदस्यहरु दुर्गा पाण्डेय, चेतनारायण भण्डारी, सुरेन्द्र श्री, संगीता गुरुङ, मुक्तिनारायण चौधरी, दानबहादुर चौधरी, क्रिमसन अस्पतालका फिजिसिय डा. कृष्णचन्द्र गोदार र सदस्य सचिवमा नगर स्वास्थ्य प्रमुख मोतिप्रसाद पौडेल रहनुभएको छ ।
बैठकले कोरोना भाइरस संक्रमणको शंका लागेका बिरामीको उपचार व्यवस्था मिलाउन वडा नं. १७ स्थित बीपी ग्रामलाई प्रयोगमा ल्याउन सकिने ठहर गर्दै त्यहाँ आवश्यक सर्जिकल, मेडिकल तथा जनशक्ति व्यवस्थापनका लागि संघीय र प्रदेश सरकारसँग सहकार्य गर्ने निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।