श्यामलाल पोखरेल
बुटवल, १८ माघ । लाईभस्टक सेक्टर इनोभेसन आयोजना बिकेन्द्रित इकाई बुटवलले बाख्रा पालन तथा दुग्ध उत्पादन क्षेत्रमा काम गर्दै आएको छ । यो परियोजनाको उद्देश्य पशु तथा बाख्रा पालन, मासु र दुधबाट आत्मनिर्भर बनाउने हो । जुन परियोजना २०७४ फागुनदेखि आयोजना कार्यान्वयनमा आएको हो ।
बाख्रा पालन तथा दुग्ध उत्पादन क्षेत्रमा काम गर्दै आएको परियोजनाले सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । प्रदेश पाँचका सात जिल्लामा कार्यक्रमहरु सञ्चालन गरेको परियोजनाले अहिले बुटवलमा प्राविधिकहरुका लागि तालिम सञ्चालन गरेको छ । पशुसेवा सामाजिक परिचालकको रुपमा काम गर्दै आएका आयोजनाका प्राविधिकहरुको क्षमता विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । शुक्रबारदेखि बुटवलमा सञ्चालित तालिम तीन दिनसम्म चल्ने छ । तालिममा लुम्बिनीका ६ जिल्ला र बर्दियाका २४ जना प्राविधिकको सहभागिता रहेको छ । पशु तथा व्यवसायिक बाख्रा पालन, सहकारी, दुग्ध प्रशोधन, मासु प्रशोधन र वजारीकरणबारे प्राविधिकहरुलाई तालिम दिइने आयोजनाका अनुगमन तथा मुल्याकंन अधिकृत लोकराज भुसालले जानकारी गराउनुभयो । आयोजनाबाट सञ्चालन भएका सेवामुखि कार्यक्रमहरुलाई सहज र सरल रुपमा लक्षित समूदायमा पुराउनका लागि प्राविधिकहरुलाई थप दक्ष बनाउने तालिमको उद्देश्य रहेको अधिकृत भुसालले जानकारी गराउनुभयो ।
तिन दिने उक्त तालिम उद्घाटन कार्यक्रममा बोल्दै आयोजनाका बरिष्ठ अनुगमन तथा मुल्याकंन अधिकृत डाक्टर मोहनदेव लेखकले आयोजनाको उद्देश्य, कर्तब्य र आयोजनालाई कसरी थप व्यबस्थित गर्नुपर्ने बताउनुभयो । तालिममा सिकेका सीपलाई प्राविधिकहरुले समूदायलाई बुझाउन सके पशु तथा व्यवसायिक बाख्रा पालन, दुग्ध र मासुबाट देशलाई आत्मनिर्भर बनाउन सकिने उहांले बताउनुभयो ।
पशुपंक्षी तथा मत्य विकास निर्देशनालयका प्रमुख तुल्सीराम भण्डारीले आयोजनाका कार्यक्रमहरुलाई प्रभावकारी बनाउन सकिएमा प्रदेश पाँचलाई दुध र मासुमा आत्मनिर्भर बनाउन सकिने बताउनुभयो । आयोजनालाई बढी भन्दा बढी पारदर्शी बनाएर कृषकमुखि बनाउनु पर्नेमा उहांले जोड दिनुभयो ।
परियोजना इकाई बुटवलका प्रमुख डाक्टर पुरुषोत्तम त्रिपाठीले २०७४ फागुनदेखि आयोजना कार्यान्वयनमा आएको जानकारी गराउनुभयो । उहांले २०८० मा परियोजना समाप्त हुने भएकाले सक्दो सेवासुविधा लिन सरोकारवालाई आग्रह गर्नुभयो ।
परियोजना इकाई बुटवलका प्रमुख डाक्टर पुरुषोत्तम त्रिपाठीको अध्यक्षता र लोकराज भुसालको सञ्चालनमा कार्यक्रम भएको थियो । विश्व बैंक, नेपाल सरकार, लाभदायी वित्तीय संस्थाहरुको संयुक्त लगानीमा पशु पालन अन्तरगत बाख्रा पालन र दुग्ध उत्पादनको क्षेत्रमा परियोजनाले काम गर्दै आएको छ । प्रदेश नं ५ मा ३६ हजार ६९३ मेट्रिकटन मासु उत्पादन हुंदै आएको छ भने दूध प्रतिवर्ष प्रतिव्यक्ति ६८ लि उपलब्ध भएको आयोजनाले जनाएको छ ।
हावापानी अनुकुलन पशु विकास, गुणस्तरीय दूध र मासु उत्पादनको लागि आयोजनाले प्रदेश ५ को सात जिल्लाका स्थानीय तहमा गाई, भैसी र बाख्राको पकेट क्षेत्र निर्माण गर्ने योजना बनाएको छ ।