बुटवल, १६ माघ । राज्यका सम्बन्धित निकाय र जनप्रतिनिधिले राम्रा र नाम चलेका विद्यालयलाई मात्र नभई पिछडिएको र सुकुम्वासी वस्तीका विद्यालयको भौतिक विकास र गुणस्तर सुधारमा पनि ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् । सरकारी निकाय र जनप्रतिनिधिले राम्रा विद्यालयमा मात्र लगानी गरिरहने परिपाटीले राज्यको निकायमा पहुंच नभएका औसत विद्यालयहरुको विकास र गुणस्तर सुधार हुन नसक्ने उनीहरुले औंल्याए ।
बुटवलको वडा नंं.१७ रानीगन्जस्थित सुकुम्बासी वस्तीको जनशक्ति नमूना भिमप्रसाद गोमता न्यौपाने आधारभूत विद्यालयको १५ औं वार्षिकोत्सवका अवसरमा स्थानीयले यस्तो माग गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका सल्लाहकार ग्यामलाल भुसालले तीनै तहका सरकार र जनप्रतिनिधिहरुले सुगम र नाम चलेका विद्यालयलाई मात्रै वजेट दिइरहने तर पछाडि परेका विद्यालयलाई बेवास्ता गर्ने गरेको गुनासो गर्नुभयो । विद्यालयका पुर्व प्रधानाध्यापक भुसालले सुकुम्बासी वस्तीको यो विद्यालयको स्तरोन्नतिका लागि महायज्ञ गरेर केही रकम जुटाउन सफल भएपनि राज्यबाट कुनै सहयोग नभएको बताउनुभयो ।
विद्यालयकी प्रधानाध्यापक कल्पना भण्डारीले अंग्रेजी माध्यममा पढाउन र दिवा खाजाको व्यवस्थाले विद्यार्थी संख्या बढेर दुई सय ४० जना पुगेको तर अति आवश्यक ६ वटा कक्षा कोठा बनाउन, शिक्षक दरबन्दी थप्न र ६ कक्षाको अनुमतिका लागि तीनै तहका सरकारले सहयोग गर्नुपर्ने माग गर्नुभयो । विद्यालयमा अधिकांश विपन्न र मजदुर वर्गका छोराछोरी पढ्ने भएकाले छात्रवृत्ति र अन्य सहयोगका लागि सामाजिक संघसंस्थालाई उहांले आग्रह गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाप्रसाद न्यौपानेको अध्यक्षता, शिक्षिका मुमाकुमारी पछाईको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य तुलसी चौधरी, बुटवल उपमहानगरपालिकाका प्रवक्ता एवं पुर्वाधार विकास समिति संयोजक रामप्रसाद रेग्मी, वडा नंं १७ का अध्यक्ष सन्तबहादुर राना लगायतले विद्यालयको पुर्वाधार निर्माण र गुणस्तर सुधारका लागि प्रदेश र स्थानीय सरकारबाट सहयोग हुने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा नेक पा वडा अध्यक्ष गंगा ढकाल, कांग्रेस वडा सभापति ओमबहादुर घिमिरे, मोतिपुर माविका प्रधनाध्यापक लक्ष्मण मरासिनी लगायतले आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रममा महायज्ञमा सबैभन्दा धेरै २० लाख दान गरेका दानवीर भीमप्रसाद न्यौपानेसहित विद्यालयलाई सहयोग गर्ने व्यक्तित्व, शिक्षक शिक्षिका र उत्कृष्ट विद्यार्थीलाई सम्मान र पुरस्कृत गरिएको थियो ।