म्णिग्राम, १४ माघ । “राममणि कप पाँचौं अन्तरकलेज नकआउट फूटबल प्रतियोगिता–२०७६” को उपाधि आयोजक राममणिको नीलो समूहले जितेको छ ।
रूपन्देहीको मणिग्राममा सञ्चालित क्यू.ए.ए. प्राप्त संस्था राममणि बहुमुखी क्याम्पसले आयोजना गरेको पाँचौं जिल्लास्तरीय फूटबल प्रतियोगिताको उपाधिका लागि आज (मंगलबार) भएको अन्तिम प्रतिस्पर्धामा न्यू इन्भाइरनमण्ट मणिग्रामलाई ट्राईब्रेकरमा पछि पार्दै राममणि नीलो विजयी भएको हो ।
जिल्लाका १६ वटा शैक्षिक संस्थाले भाग लिएको प्रतियोगिताका विजयीले ३० हजार नगद तथा उपविजयीले २० हजार नगदसहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताका विजयीलाई पुरस्कृत गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले क्यू.ए.ए. प्राप्त राममणि क्याम्पसको गुणस्तरीय कार्यक्रमले नगरको गरिमा बढाएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा, पहिलो र दोस्रो पुरस्कार राशीका प्रायोजक तिनाउ मिशन डेभलपमण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप श्रेष्ठले आगामी दिनमा स्यानेटरी प्याडको भेण्डिङ् मेशीन र दुई जना विद्यार्थीलाई १ वर्षको छात्रवृत्ति उपलब्ध गराई क्याम्पससँग थप सहकार्य गर्ने घोषणा गर्नुभयो ।
क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिका संयोजक माया घिमिरेको संयोजकत्वमा भएको कार्यक्रममा क्याम्पस प्रमुख मोहनराज शर्माले समाजको संवाहक शैक्षिक संस्थाले विद्यार्थीको सर्वांगीण विकाशका लागि विविध कार्यक्रम गर्दै आएको बताउनुभयो ।

क्याम्पसका उपप्राध्यापक मुक्तिनाथ गैह«ेको सञ्चालनमा भएको समापन कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठक, पूर्व खेलाडी तथा प्रहरी उपरिक्षक लक्ष्मीप्रसाद बस्याल, अखिल नेपाल फूटबल संघका जिल्ला महासचिव लोक पुन, सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्याल लगायतले विजयी टिमलाई बधाई ज्ञापन गर्नुभएको थियो ।
प्रतियोगितामा प्रमुख रेफ्री निर्मल थापा, असिष्टेण्ट रेफ्रीहरूः किरण थापा, अनिल थापा र फोर्थ अफिसर केशव थापाले सहयोग गर्नुभएको थियो भने खेल संयोजन समितिका संयोजक अभिषेक छन्तेल, सह–संयोजकहरूः गणेश पराजुली, सूर्य थापा, निश्चल शर्मा लगायत सदस्यहरूले खेल संयोजनमा सहयोग गरेको क्याम्पसका लेखा अधिकृत उमेशकुमार शाहीले जानकारी दिनुभयो ।
