रामकुमार श्रेष्ठ
नवलपरासी, १० माघ । पश्चिम नवलपरासीमा चक्कु प्रहार गरी हत्या गर्ने सुनवल नगरपालिका ३ कृतिपुरका २० बर्षीय महादेव पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार सुनवल ३ कृतिपुरका २० बर्षीय महादेव पुनले उनका साथी २३ बर्षीय संयाजक गुरुङ र कास्कीको पोखरा महानगरपालिका १ का २४ बर्षीय जगदिश गुरुङलाई चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते पोखराका जगदिश गुरुङको बुधबार उपचारको क्रममा मृत्यु भएको छ । अर्का घाइते संयोजक गुरुङ उपचार पछि घर फर्किएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार केही दिन अघि चिनजान भएका यि ३ जनाबीच फोनमा एकले अर्कालाई अपशब्द प्रयोग गरी गाली गरेपछि झगडा भएका थियो ।
मादक पदार्थ सेवन गरेपछि मंगलबार राति संयोजक गुरुङ र जगदिश गुरुङले फोन गरेर महादेव पुनलाई गाली गरेपछि दुवैले दुवैलाई अपशब्द प्रयोग गरेपछि ३ जना बीच विवाद भएको थियो ।
फोनमा विवाद भएपछि संयोजक र जगदिश राति नै महादेवको घर आएर झगडा गरेपछि दुवै पक्षबीच हात हालाहाल हुँदा महादेवले घरमा रहेको चक्कु निकालेर दुवैलाई चक्कु प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
घटना पछि फरार रहेका महादेवलाई प्रहरीले बुधबार उनकै घर नजिकैबाट लुकिरहेको अवस्थामा पक्राउ गरेको हो ।