बुटवल, ४ माघ । रम्भा देवी कलेज अफ मेडिकल साईन्सले निःशुल्क बृहत स्वास्थ शिविर संम्पन्न गरेको छ । बुटवल तामनगर स्थित रम्भादेवी कलेज र न्यू भिजन उच्च माविको प्राङ्गणमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा फिजिशियन, स्त्री रोग, बालरोग र नेत्र रोग विशेषज्ञ सहितको सेवाका साथै रक्त परीक्षण र निःशुल्क औषधी समेत प्रदान गरिएको थियो ।
कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको रम्भादेवी ग्रुप अफ अर्गनाइजेशनका अध्यक्ष सूर्य बहादुर भट्टराइले जानकारी दिनुभयो । कलेजमा स्वास्थ्यका विद्यार्थी धेरै भएकाले उनीहरुलाई पढाईमा सहयोग पुग्ने र सर्वसाधारण जनतालाई शिविरले राहात हुने गरी कलेले हेल्थ क्लिनिक समेत खोल्ने योजना बनाएको उहांले बताउनु भयो ।
निःशुल्क वृहत स्वास्थ्य शिविरमा करिब ५ सय जनाले सेवा लिएको कलेजका प्रबन्ध निर्देशक मनोज बस्नेतले बताउनुभयो । प्रवन्ध निर्देशक बस्नेतका अनुसार शिविरमा फिजिसियन डा. महेशराज घिमिरे, गाईनोलोजिस्ट डा. नविन तिरुवा, बालरोग विशेषज्ञ डा. लक्ष्मण पौडेल, बुटवल लायन्स अँखा अस्पतालका आँखा रोग विशेषज्ञ एवं मेडिकल अफिसरहरु डा. बिनोद बडै, डा.मानवहादुर केसी लगायतले स्वास्थ्य परिक्षण गर्नुभएको थियो । शिविरमा स्वास्थ्य जांच गराएका विरामीहरुलाई निःशुल्क औषधि समेत बितरण गरिएको थियो ।
करिब ९ सय विद्यार्थी रहेको कलेजले आफ्ना अभिभावक लगाएत स्थानीय सबैलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य अनुसार शिविर आयोजना गरिएको कलेजका प्रिन्सिपल मनोज काफ्लेले जानकारी दिनुभयो ।
शिविरमा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो । संस्थाले यस अघिपनि विभिन्न सामाजिक सेवा तथा उत्तरदायित्व अन्तर्गतका कार्यक्रम सञ्चालन गर्दै आएको र यसले विद्यार्थीहरुमा सामाजिक जिम्मेवारीको महसुस भएको न्यूू भिजन उच्च माविका सह–प्राचार्य कमल खनालले बताउनुभयो ।
रम्भादेवी ग्रुप अफ अर्गनाइजेशनले मन्टेश्वरी देखि उच्च शिक्षा न्यु भिजन मावि, रम्भादेवी कलेज अफ मेडिकल साईन्स र रम्भादेवी टेक्निकल कलेज संचालन गरेको छ ।
