कमल चौधरी
कपिलवस्तु, ४ माघ । कपिलबस्तुमा बाणगंगा नगरस्तरिय दोस्रो माघी (खिचडी) महोत्सव तथा नयाँ बर्ष–२०७६ शनिबार देखि सुरु भएको छ । थारु कल्याणकारिणी सभा बाणगंगा नगर कार्यसमिति कपिलबस्तुको आयोजनामा बाणगंगा नगर पालिका –११ शिवरात्री मेला स्थल कपिलबस्तुमा संचालन भएको मेला ३ दिन सम्म चन्ने छ ।
“थारु संस्कृतिके संरक्षण, सम्बद्र्धन वो प्रवद्र्धनके खातीर हम्मन अभियान न्याय, समानता आउर पहिचान सहितके थारुहट स्वायत्त प्रदेशके निर्माण” (थारु संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनकालागि हाम्रो अभियान, न्याय, समानता र पहिचान सहितको थारुहट स्वायत्त प्रदेशको निर्माण) भन्ने मुल नारा सहित दोस्रो माघी महोत्सव सुरु गरिएको हो ।
महोत्सवको बाणगंगा नगर प्रमुख मंगल प्रसाद थारुले उद्घाटन गर्दै थारु समुदायको चाड पर्वहरुलाई संरक्षण र प्रवद्र्धन गर्दै जानुपर्ने औल्याउनु भयो । उहांले पछिल्लो समय थारु समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिमा परिवर्तन आएको भन्दै यसलाई अब युवा पुस्ताले संरक्षण र प्रवद्र्धनमा विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । अव थारु समुदायविच एकताको सन्देश दिनका लागि अलग अलग ठाउंमा भन्दा पनि एक बिशेष ठाउंमा सबै मिलेर बृहद रुपमा मेला महोत्सवको आयोजना गर्न सके थप प्रभावकारी हुने प्रमुख थारुले बताउनु भयो ।

कार्यक्रममा पूर्व मन्त्री तथा पूर्व राजदूत दिपकुमार उपाध्यायले नेपालमा बसोबास गर्ने एक प्रमुख जाति थारू जातिको आफ्नै सांस्कृतिक पहिचान छ भन्दै यसको संरक्षण र सम्वद्र्धन गर्दै सांस्कृतिक पहिचानलाई जिवन्त राख्न युवा पुस्ता क्रियाशिल हुनुपर्ने वताउनु भयो ।
प्रतिनिधी सभा सदस्य एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबं प्रतिनिधीसभा सदस्य अतहर मुसलमानले अन्य जात जातीको जस्तै देशका विभिन्न ठाउँमा छरिएर रहेका थारु समुदायको आफ्नै मौलिक र फरक पहिचान भएकाले यसलाई जोगाउनु पर्ने बताउनु भयो ।
थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य सुमित्रा थारुले थारु जाति समुदायको हक अधिकार सुनिश्चित गर्नको लागि सम्पूर्ण थारु अगुवा, बुद्धिजिवी, समाजसेवी एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल ब्रदर्स विजनेस हाउसका म्यानेजिङ्ग डाईरेक्टर धु्रवप्रसाद नेपाल, नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेल, बाणगंगा नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष सन्तराम रौतार, कञ्चन गाउँपालिका वडाअध्यक्ष हरिनारयण थारु, नागरिक समाजका जिल्ला अध्यक्ष दोलख बहादुर पछाई, समाजसेवी सर्जु चौधरी, राम शंकर चौधरी लगातले बोल्दै थारु समुदायको भेषभुषा, भाषा, कला र संस्कृतिको संरक्षण तथा संम्बर्धन गर्न सबैले आ–आफ्नो ठाउँबाट विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा थारु समुदयको पहिचान झल्किने झाँकी प्रदर्शन गरिनुका साथै विभिन्न किसिमको थारु नृत्यहरु प्रदर्शन गरिएको थियो ।

कार्यक्रम थारु कल्याणकारिणी सभाका नगर अध्यक्ष भग्गु प्रसाद थारुको अध्यक्षता, उपाध्यक्ष रिता थारुको स्वागत तथा राजेश चौधरी र सिर्जना चौधरीको संचालनमा कार्यक्रम भएको थियो ।
माघी महोत्सव माघ ४ गते देखि ६ गते (तीन दिन) सम्म संञ्चालन हुनेछ । महोत्सवमा आईताबार देखि झुमरा, झर्रा, सजनी, बिरहनी, मयूर नाँच, लाठी नाँच, खुला नृत्य लगायतका प्रतियोगिता हुने अयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा थारु खानाको परिकारहरु ढिकरी, घोङ्गी, खरियाँ, बरियाँ, खुर्मा, गेङ्गतक पाकउरी लगायत खानाहरु महोत्सवका मुख्य अकार्षण रहेका छन् । पहिलो दिनमा नै महोत्सवमा हजारौंको संख्यामा दर्शकहरु आएका थिए । महोत्सवमा गायककार हरिनारायण र थारु रेकर्ड डान्समा दर्शकहरु झुमेका थिए ।


