नवलपुर, २ माघ । यही माघ १५ गतेदेखि पूर्वी नवलपरासीको गैडाकोटमा गैडाकोट महोत्सव हुने भएको छ ।
गैडाकोटको नारायणी नदी किनारमा हुने महोत्सव माघ १५ गतेदेखि २६ गतेसम्म १२ दिन चल्ने छ ।
आफ्नै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैँडाकोट महोत्सव २०७६, भन्ने मुल नाराका साथ तेस्रो गैँडाकोट महोत्सव हुन थालेको विहीबार गैडाकोटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा माघको १५ देखि २६ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारीलाई तिब्र बनाइएको गैँडाकोट महोत्सव मूल आयोजक समितिका संयोजक अमृत भट्टचनले जानकारी दिनुभयो । ।
महोत्सवमा स्थानीय उत्पादनलाई प्रमुख स्थान दिईएको र ३० स्थानीय स्टललाई निशुल्क व्यवस्था गरिएको छ । महोत्सवमा ३ सय ५० बढी स्टल रहनेछन् । व्यवसायको प्रकृति अनुसार स्टल बढाईने र महोत्सवमा २२ उपसमिति रहने छन् ।
तेस्रो गैँडाकोट महोत्सवमा प्रमुख आकर्षकको रूपमा लण्डन ब्रिज, सेल्फी जोन तथा बेली नाच (रसियन) रहने छन् ।
नारायणी नदी किनारमा हुने महोत्सव नदी किनारमा हुने भएकै कारण दर्शकहरु आकर्षित हुने अपेक्षा गरिएको छ । गैडाकोट उद्योग वाणिज्य संघले हरेक दुई दुई बर्षमा महोत्सव आयोजना गर्ने गरेको छ ।