परम्परागत कृषि प्रणाली नतोडेसम्म कृषि क्रान्ति असम्भव : मन्त्री भुसाल
बुटवल, १ माघ । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले मुलुकको परम्परागत कृषि प्रणालीलाई नतोडेसम्म कृषि क्रान्ति सम्भव नरहेको बताउनु भएको छ । परम्परागत र निर्वाहमूखी कृषि प्रणालीलाई तोडेर व्यवसायिक कृषि नगरेसम्म कृषि क्रान्ति सम्भव छैन भन्दै मन्त्री भुसालले कृषिको विकासका लागि कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नुभयो ।
रुपन्देहीको सियारी गाउँपालिका– ७, अमुवामा आजदेखि सुरु भएको रुपन्देही मत्स्य, कृषि तथा माघी महोत्सव–२०७६ को शुभारम्भ गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री भुसालले कृषिको समस्या नसुल्झिएसम्म देशको विकास सम्भव नहुने भन्दै मुलुकको अवस्थाअनुसार कृषि क्षेत्रको परिवर्तन गर्न कानून संशोधन गर्ने वताउनु भयो ।

मन्त्री भुसालले कृषि क्षेत्रको अनुदानमा भइरहेको दुरुपयोग सरकारले रोक्ने दावी गर्दै धेरै ठाउँहरुबाट कृषि अनुदानको दुरुपयोग भएका कुराहरु आइरहेकाले यसतर्फ सरकारको ध्यानाकर्षण भएको बताउनु भयो । उहांले भन्नुभयो–‘अब किसानले पाउने अनुदान दुरुपयोग हुन दिईने छैन ।’
किसानलाई व्यावसायिक बनाउनका लागि यान्त्रीकरणको विकल्प छैन भन्दै मन्त्री भुसालले कृषिको यान्त्रीकरण र आधुनिकीकरण आजको आवश्यकता भएको औल्याउनु भयो । कृषिको यान्त्रीकरण बिना कृषि उत्पादन बढ्न सक्दैन भन्दै उहांले कृषि क्षेत्रलाई आजको आवश्यकता अनुसार आधुनिक ढंगले अघि बढाउन सरकारले प्रयत्न गरिरहेको बताउनु भयो ।
मन्त्री भुसालले माछा उत्पादक कृषकहरुलाई प्रोत्साहन गर्ने गरी सरकार अघि बढ्ने र त्यसका लागि बजारीकरणमा जोड दिन सरोकारवालालाई आग्रह समेत गरे । माछामा प्रयाप्त सम्भावना हुँदाहुँदै पनि भारतीय माछा आयात हुनु मुलुकका लागि दुर्भाग्य हो भन्दै मन्त्री भुसालले अब सरकारले माछापालक कृषकलाई प्रोत्साहन गर्ने गरी माछा उत्पादन बढाउने नीति लिने वताउनु भयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य तुलसी प्रसाद चौधरीले माछाको गुणस्तर वृद्धि गर्न र उत्पादन बढाउनेतर्फ किसानहरुलाई प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । नेपाल मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिवाकर भुसालले माछा महोत्सव कृषि क्षेत्रको विकासमा योगदान पुर्याउन सफल हुने विश्वास ब्यक्त गर्नुभयो ।
सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले माछा महोत्सव नेपाल पर्यटन वर्ष र लुम्बिनी भ्रमण वर्ष सफल बनाउन सार्थक हुने वताउनु भयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपरजोन रुपन्देहीका सञ्चालक समिति संयोजक गणेश शाहीले रुपन्देहीको उत्पादनले माछामा मुलुकलाई नै आत्मनिर्भर बनाउन सकिने र भारतमा समेत माछा निर्यात गर्न सकिने सम्भावना रहेकाले किसानलाई यसतर्फ प्रोत्साहन गर्न माछा महोत्सव गरिएको बताउनुभयो ।
यस्तै मत्स्य व्यवसायी संघका केन्द्रीय सदस्य अम्बिका प्रसाद अधिकारीले माछा महोत्सवले किसानमा उत्साह जगाएको र नीति निर्मातालाई राम्रो सन्देश दिएको उल्लेख गर्नुभयो ।
रुपन्देहीका चारवटा गाउँपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपर जोनको आयोजनामा रुपन्देहीको सियारी गाउँपालिका प्रथम माछा महोत्सव आयोजना गरिएको हो । पाँच दिनसम्म चल्ने महोत्सवमा मत्स्य सम्बन्धि ३६ वटा स्टल राखिएका छन् ।