माघ १ र २ गते प्रदेश ५ मा सार्वजनिक विदा
बुटवल, २९ पुस । प्रदेश पाँचका मुख्यमन्त्री शँकर पोखरेलले सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार भएको बताउनु भएकोछ । सामाजिक सद्भाव र एकतामा खलल भए राष्ट्रिय एकतालाई कमजोर बनाउँछ भन्दै सबैले सामाजिक सद्भावलाई बलियो बनाउने संकल्प गर्नुपर्नेमा जोड दिनुभयो ।
माघे संक्रान्ती तथा माघी पर्वको अवसरमा मुख्यमन्त्री निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले चाडपर्व सामाजिक र सांस्कृतिक सम्बन्धलाई बलियो तुल्याउने आधार भएको बताउनु भयो । उहांले चाडपर्वहरुको माध्यमबाट राष्ट्रिय एकता बढ्ने समेत उल्लेख गर्नुभयो ।
हरेक जातजाति र क्षेत्रमा मनाइने चाडपर्वको आ–आफ्नै राष्ट्रिय महत्व रहेको बताउंदै मुख्यमन्त्री पोखरेलले पाँच नम्बर प्रदेश विभिन्न जातजाति भाषाभाषी भएको प्रदेश भएकाले प्रदेशका सबै जातजातिले मनाउने पर्वहरू उत्तिकै महत्वपूर्ण रहेको बताउनु भयो ।
माघी पर्व थारु र मगर समुदायले विशेष महत्वका साथ मनाउने पर्व भएपनि पछिल्लो समयमा यसलाइ सबै समुदायले महत्व दिएको बताउंदै उहांले यसले सामाजिक सदभावलाई बलियो बनाएको वताउनु भयो । माघी पर्वको अवसरमा प्रदेश ५ सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिएको छ ।
यसैविच मुख्यमन्त्री शँकर पोखरेलले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा सबैमा शुभकामना ब्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले सांस्कृतिक विविधायुक्त नेपाली समाजमा माघी पर्वले बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता बढाउने विश्वास लिएको उल्लेख गर्नुभएको छ ।
