कमल चौधरी
दक्षिण एसियामा अवस्थित एक भूपरिवेष्टित मुलुक नेपाल जहाँ ब्राह्मण, क्षेत्री, मगर, गुरुङ्ग, राई, लिम्बु, थारु लगायत एक सय २५ जातजाति समुदायका मानिसहरु बसोबास गर्दछन् । उनीहरुको आ–आफ्नै किसिमको भेषभुषा रीतिरिवाज तथा धार्मिक परम्परा रहेको छ । आफ्नो छुट्टै अस्तित्व र सांस्कृतिक पहिचान बोकेका यी जातिहरु मध्ये थारु जाति एक हो ।
थारु को हुन् ? उनीहरुको उत्पत्ति कसरी भएको हो ? भन्ने बारेमा अझै विद्वान्हरुमा एक मत हुन सकेको छैन । यस सम्बन्धमा कसैको विचारमा सिन्ध प्रदेशको “थर” भन्ने ठाउँ बाट आएका हुँदा थारु भए भनेका छन्, भने कसैले यिनीहरुलाई मंगोल वर्गका मानेका छन् । पहाडी प्रदेशमा बसोबास गर्ने मंगोल वर्गका मानिसहरु नै आर्य भाषा ग्रहण गरी तराईतिर बसाई सरेका हुन् भन्ने धारणा व्यक्त भएको पाईन्छ । फेरि अर्को थरी विचारमा “थरी” (ग्राम प्रमुख) बाटै थारु भएको भन्ने पनि पाईन्छ । कसैको विचारमा त पहाडका मगर जाति नै तराईमा झरेर थारु भएका हुन् भन्ने छ भने कसैले मिश्रित जातिको रुपमा थारुलाई लिएका छन् । यसरी थारुहरुको उत्पत्ति सम्बन्धमा अनेक विचारहरु व्यक्त भएका छन् । स्पष्ट भन्न सकिने आधार भने केही छैन । जे भए पनि यो जाति अत्यन्तै प्राचीन समय देखि नै तराईका मलिला फाँटहरु आवाद गरेर आइरहेका छन् । (दाहाल, पेशल .२०४६.नेपालको इतिहास र संस्कृति ।)
थारुहरु सुदूरपश्चिमको कञ्चनपुर देखि पूर्वको झापा सम्म तराईको समथल भू–भागमा छरिएर बसेका छन् । वि.सं. २०६८ को जनगणना अनुसार थारुको जनसंख्या १७ लाख ३७ हजार ४ सय ७० रहेको छ । यो कुल जनसंख्या (२ करोड ६४ लाख ९४ हजार ५०४) को ६.५ प्रतिशत हो । थारु भित्र अनेक थर, उप थरहरु छन् । ठाउँ अनुसार यिनीहरुको भाषा, संस्कृतिहरुमा फरकपन छ । यिनीहरुको मुख्य धर्म प्रकृति धर्म हो । यिनीहरु बुद्धको सन्तती भएको दावि गर्नुको साथै, हिन्दु धर्ममा अस्था राख्ने र देवी देवताहरुको पूजागर्ने प्रचलन पनि रहिआएको पाईन्छ । थारु समुदायहरुले मुख्यतया माघ, जितिया, बड्काअत्वरी पर्व विशेष रुपले मनाउने गर्दछन् । माघ थारु समुदायको महान् पर्व हो ।
थारु जातिको महान् पर्व माघ
थारु जातिको आफ्नो पहिचान बोकेको महान् पर्व माघलाई स्थान विशेष अनुसार माघ, माघी, माघे संक्रान्ति, माघी देवानी, खिचरा, खिचरी भन्ने प्रचलन रहेको पाईन्छ । माघ पर्व थारुहरूको सबैभन्दा ठूलो पर्व रहेकोले यसलाई परापूर्वकाल देखि नै धुमधामका साथ मनाउँदै आइरहेका छन् । आ–आफ्नो ठाउँ अनुसार यसलाई, नयाँ वर्षको रूपमा, उन्मुक्ति दिवसको रूपमा, सद्भाव र मेलमिलापको रूपमा, स्वतन्त्रताको रुपमा तथा आफ्ना दिदीबहिनीहरूलाई कोशेली स्वरूप निस्राउ प्रदान गर्ने आदि विविध रूपमा मनाउने चलन रहेको छ । यस पर्वमा मघौटा गीत गाउँदै झुमरा, झर्रा लगायत विभिन्न नाचहरू नाच्ने गरिन्छ । थारु समुदायले माघलाई नयाँ वर्षको रूपमा लिने गरिन्छ ।
अस्तित्व र पहिचानको पर्व माघ
सोझा, इमान्दार, सांस्कृतिक रुपमा विशिष्ट पहिचान भएका थारु समुदायको माघ पर्वको छुट्टै अस्तित्व र पहिचान रहेको छ । मानव सभ्यताको सुरुवात संगै विभिन्न किसिमले थारु समुदायको समाजिक तथा सांस्कृतिक पर्वहरु अस्तित्वमा आएको पाईन्छ । हुन त वि.स. २०५९ सालमा सरकारले माघको अवसरमा थारु कर्मचारीलाई बिदा दिने निर्णय गरे सँगै थारु समुदायको माघी पर्वको व्यापक रुपमा प्रचार–प्रसार भएको देखिन्छ । त्यही बर्ष देखि नै काठमाडौंमा माघी महोत्सवको सुरुवात र पछि केन्द्र, जिल्ला, क्षेत्र गाउँ–गाउँमा माघी महोत्वस मनाउन लागेको थारु अगुवाहरु बताउँछन् । वर्तमान समयमा केन्द्र, प्रदेश, जिल्ला, नगर, वडा स्तरका माघी महोत्सवहरु हुन थालेको पाईन्छ । जसले गर्दा आजभोली थारु गाउँबस्ती नै गुन्जमान भएको छ । युवा पुस्ताहरु थारु संस्कृति संरक्षण र प्रवद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यले एक जुट भएको देखिन्छ ।
मेलमिलाप र समाजिक सद्भावको पर्व माघ
मेलमिलाप र समाजिक सद्भावको पर्व हो माघ । माघ पर्वमा आफूभन्दा ठूलालाई ढोगभेट गरेर माघका लागि बनाइएका परिकार खाने प्रचलन रहिआएको छ । थारु जातिले माघ पर्वलाई मेलमिलाप पर्वको रुपमा लिने गर्दछन् । झैँ–झगडा वा विवाद भएर बोलचाल बन्द भएकाहरु समेत माघ पर्वमा एक आपसमा साइनो अनुसार ढोगभेट गरेर एकै साथ बसेर एक अर्काे घरमा पाकेका परिकार खाएर रमाईलो गर्ने प्रचलन रहेको छ । त्यसैले माघ पर्व समाजिक सद्भाव र खुसीयालीको पर्वको रुपमा लिने गरिन्छ ।
नयाँ बर्षको रुपमा माघ
थारुहरूले माघ १ गतेदेखि नयाँ वर्ष थालनी भएको मान्दछन् । त्यसैले पुस मसान्तमा गत सालको सबै कारोबारको अन्त्य र माघ १ गते देखि नयाँ करोबारको थालनी गर्ने चलन रहेको छ । त्यसैगरी सामूहिक काम काजको सम्बन्धमा छलफल गरी छिनोफानो लगाइन्छ । गाउँभरीका व्यक्तिहरू भेला भइ गाउँको नेतृत्वकर्ता वरघर (भलभन्सा÷महँताँवा) चयन गरिन्छ । त्यस पश्चात् चौकीदार, गुरुवा, केसौका, छनौट पनि गर्ने गरिन्छ ।
माघ पर्वको सुरुवात
माघी पुस महिनाको अन्तिम दिन देखि सुरु हुन्छ । गाउँ घरमा माघ महिना सुरु भएदेखि नै थारु गाउँबस्तीमा चहलपहल हुनुको साथै “सखीहो माघे मे पिलि गुरी–गुरी जाँड….” जस्ता गीतहरु गुञ्जिन सुरु हुन्छन् । विशेषगरी माघ १ गतेको दिन जब बिहान भाले बासे संगै साना ठूला सबै नदीमा नुहाउन जाने गरिन्छ । कसैको कोखबाट सन्तानको जन्म नहुने वा जन्मे पछि मरिहाल्ने गरेको छ भने त्यस्ता जोडीहरू कुनै तीर्थस्थल वा दोभानमा गएर नुहाउने र सन्तानको बरदान माग्ने धार्मिक विश्वास पनि रहिआएको छ । नदीमा नुहाउन गाउँभरीका केटाकेटी, युवा तथा बृद्ध सबै संगै जाने र नुहाई सकेपछि तिलको आगो ताप्ने गरिन्छ । नुहाइ घरमा फर्के पछि सबै जना चामलको टिका लगाउने गरिन्छ र “निश्राउ” निकालिन्छ । चामल छुदा सुपामा चामल, नुन, उरुदको दाल राखिएको हुन्छ यिनै चामल, नुनलाई अर्को छुटै भाँडाहरूमा पाँच–पाँच अञ्जुली झिकेर राखिन्छ यसै प्रक्रियालाई “निश्राउ” भनिन्छ । यो निश्राउ जति झिकेर राखेको छ त्यसैमा केही थापेर दिदीबहिनीलाई “निश्राउ” दिन जाने गरिन्छ ।
कपिलबस्तुको बाणगंगामा माघ महोत्सव
कपिलस्तु जिल्ला बाणगंगा नगरपालिकाको वि.स. २०६८ को तथ्यांक हेर्ने हो भने कुल ७५ हजार २ सय ४२ जनसंख्या रहेको छ । यस नगरपालिकमा थारु समुदायको मात्रै २८ हजार १२ जनसंख्या रहेको छ । यो कुल जनसंख्याको ३७.२२ प्रतिशत हो । यहाँ १३ हजार ५ सय ७० थारु पुरुष र १४ हजार ४ सय २१ थारु म्हिला बसोबास गर्ने गर्दछन् । ११ वटा वडामा विभाजन भएको यस नगरपालिकामा थारु जातिको उच्च बाहुल्यता रहेको छ । यस बर्ष माघी अवसरमा कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिकाका विभिन्न ६ स्थानमा माघ महोत्सव हुन थालेको छ । कपिलबस्तुको बाणगंगा नगरपालिकामा ५ स्थानमा वडा स्तरिया माघ महोत्सव हुन थालेको छ । त्यस्तै १ ठाउँमा नगर स्तरिय माघ महोत्सव अयोजना गरी धुमधामको साथ कपिलबस्तुमा माघी महोत्सव मनाउन थालिएको छ । यसरी कपिलबस्तुको बाणगंगा नगरपालिकामा वडा स्तरिया माघी महोत्सवहरु वडा नं. ६ को बैदौलीमा माघ ६ र ७ गते, त्यस्तै वडा नं. ७ को कपिलधाममा माघ ५ गते, वडा नं. ८ उदयपुर स्कुलमा माघ ४ र ५ गते, वडा नं. ९ को जिनुवा स्कुलमा पुस २८ गते मनाईएको छ भने वडा नं. १० को सोनपुरमा २८ र २९ गते मनाइएको थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष उमाशंकर चौधरीले जनकारी दिनुभयो । त्यसैगरी माघ २, ३ र ४ गते महाशिवरात्री मेला स्थल (कौवाघाट) हथौंसमा बाणगंगा नगरस्तरिय दोस्रो माघ महोत्सव हुने भएको छ ।
कपिलबस्तुमा नौ स्थानमा माघ महोत्सव
पछिल्लो समय थारु समुदायले धुमधामका साथ माघ (खिचरी) पर्वलाई मनाउन थालेका छन् । थारु बहुल्यता वडा तथा नगरमा विभिन्न महोत्सवहरुको अयोजना गरी आजभोली माघ महोत्सव मनाउने नयाँ संस्कृतिको विकास भएको छ । यस बर्ष कपिलबस्तुमा ९ स्थानमा माघ महोत्सवको अयोजना गरी मनाइदै छ । बाणगंगा नगर स्तरिया संगै विभिन्न वडा स्तरिया माघ महोत्सव अयोजना गरिएको छ । त्यस्तै शिवराज नगर स्तरिय माघ महोत्सव २, ३ र ४ गते शिवराज नगरपालिका–५ चन्द्रौटामा हुने भएको छ । भगवानपुर गाउँ समाज स्तरिय माघ महोत्सव पुस २८, २९ मनाइएको छ भने माघ १ गते देखि शिवराज ५ भावगनपुरमा सुरु हुदैछ । यसरी थारु समुदायको लोप हुने संघारमा पुगेको भाषा संस्कृतिहरुलाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिका र वडा कार्यालयले थारु समुदायको माघी पर्वलाई छुट्टै आर्थिक रकम छुट्टाएको हुँदा विभिन्न स्थानमा माघ महोत्सव कार्यक्रम गर्न सजिलो भएको बाणगंगा नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष गुणनीधि भुसालले जनकारी दिनुभयो । बाणगंगा नगरपालिका नगरप्रमुख मंगल प्रसाद थारुले सबै जातजाति समुदायको भाषा संस्कृति संरक्षण र प्रवद्र्धन हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–“राज्यले सवै जाति समुदायको भाषा संस्कृति संरक्षण गर्न आवश्यक छ ।”
माघ पर्व मनाउने शैलीमा परिवर्तन
बर्तमान समयमा माघ पर्व मनाउने शैलीमा परिवर्तन आएको छ । पहिले थारु बहुल्य भएको गाउँ ठाउँमा सिमित हुने माघ वडा, नगर, जिल्ला र राष्ट्रिय स्तरमा मनाउन थालिएको छ । अधुनिक समाजको विकास र प्रचर–प्रसार संगै ठाउँ– ठाउँमा महोत्सव गरी मनाउने संस्कृतिको विकास हुँदै गएको छ । यसलाई अझ भव्य र व्यापक रूपमा मनाउनका लागि अगुवा, बुद्धिजिवी, थारु युवायुवती लागि परेका छन् । यस माघ पर्वलाई केवल थारु जातिमा मात्र सीमित नराखी अब अन्य जाति सँग सहकार्य गरी व्यापक रूपमा मनाउन जरुरी छ । यस्ता चार्ड पर्वहरू थारुमा मात्र सीमित राख्नु निश्चय पनि सान्दर्भिक र न्यायपूर्ण हुन सक्दैन । हुन त प्रदेश नं. ५ सरकारले गत बर्ष र यस बर्ष पनि माघ पर्वकोे अवसरमा माघ १ र २ गतेलाई दुई दिन सार्वजनिक विदा दिएको छ । पक्कै पनि थारु समुदायको महान पर्व माघ पर्वलाई संरक्षण र प्रवद्र्धनका लागि प्रदेश सरकार बाट दिएको सर्वजानिक विदा स्वागत् योग्य छ । तर यति मात्रले थारु संस्कृतिको संरक्षण र प्रवद्र्धन हुन सक्दैन थारु भाषा संस्कृतिको संरक्षण र प्रवद्धन गर्नको लागि सरकारी तहबाट स्पस्ट नीति हुनु जरुरी देखिन्छ । प्रदेश ५ सरकारले मात्र नभएर राज्यले नै थारु समुदायको माघी पर्वलाई सम्बोधन गर्न सक्नुपर्छ ताकी लोप हुने संघरमा पुगेको भाषा, धर्म संस्कृतिको संरक्षण र प्रवद्र्धन हुन ठुलो मद्दत पुग्ने छ ।