बुटवल, २७ पुस । बुटवल उपमहानगरपालिकामा कार्यक्षेत्र रहेको आँगन वचत तथा ऋण सहकारी संस्थाले सदस्यता बिस्तार तथा कार्यक्षेत्र बिस्तारलाई प्राथमिकता दिएको छ । संस्थाको शनिबार बुटवलमा सम्पन्न १० औं साधारण सभाले चालु आर्थिक वर्ष भित्र ५ सय सदस्य पुर्याउने र कार्यक्षेत्र पनि बिस्तार गरि रुपन्देही जिल्ला बनाउने निर्णय गरेको हो ।
साधारण सभाले सदस्य संख्या बृद्धि गर्ने रणनीति बनाउन र कार्यक्षेत्र बिस्तार गरि जिल्लाभरको बनाउनकालागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । बुटवल उपमहानगरपालिका भित्र कार्यक्षेत्र रहेको उक्त सहकारीमा हाल ३४२ जना शेयर सदस्य छन् ।
साधारण सभामा संस्थाका अध्यक्ष यमप्रसाद तिवारीले सदस्य संख्या बृद्धि गरि चालु आर्थिक वर्षभित्रमा ५ सय पुर्याउने र रुपन्देही जिल्लालाई कार्यक्षेत्र बनाउने लगायतका प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष तिवारीले गर्नुभएको प्रस्तावलाई साधारण सभाले सर्वसम्मत पारित गरेको छ । त्यस्तै कोषाध्यक्ष ध्रुवराज अर्यालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक नरदेव न्यौपानेले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदन प्रनि पारित भएको छ ।
साधारण सभामा संस्थाका शेयर सदस्यहरु यमलाल लोहोनी रुपन्देही व्यापार संघको अध्यक्षमा, राजेन्द्र घिमिरे नेपाल जेसीजको कानुनी सल्लाहकारमा, राजिव गौतम बुटवल जेसीजको अध्यक्षमा, बिष्णुप्रसाद गौतम क्यान महासंघ रुपन्देहीको कार्यसमिति सदस्यमा र गोपाल चापागाई सिद्धार्थ गौतमबुद्ध क्याम्पसको प्राध्यापक संघको अध्यक्षमा निर्वाचित हुनुभएकोमा सम्मान गरिएको थियो ।
यस्तै शेयर सदस्यका सन्ततिमध्येबाट गत एसईई परिक्षामा उत्कृष्ट दिबिसा घिमिरे, निशान्त घिमिरे र लक्ष्मण भण्डारीलाई नगद सहित पुरस्कृत गरिएको थियो । त्यस्तै संस्थाका असल ऋणी, बचतकर्ता तथा सदस्य बृद्धिमा योगदान गरेका सरिता सुवेदी, लक्ष्मी पन्त, राजन घिमिरे र भोजराज अर्याललाई पनि सम्मान गरिएको थियो ।
साधारण सभामा संस्थाका सल्लाहकार गणेशचन्द्र पोखरेल, शेयर सदस्य तथा युवा नेता बिष्णु पोखरेल, नवप्रवेशी शेयर सदस्य तथा नेपाल जेसीजका पूर्व अध्यक्ष श्रीधर बस्याल, शेयर सदस्य सम्झना मरासिनी लगायतले संस्थाको हितलाई ध्यानमा राखेर सदस्यता बृद्धि गर्न र कार्यक्षेत्र बिस्तार गर्न उपयुक्त हुने भनाई राख्नुभएको थियो । संस्थाका अध्यक्ष यमप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रम सचिव राजेन्द्र घिमिरेको सञ्चालन तथा सदस्य राजिव गौतमको स्वागतमा भएको थियो ।
