बुटवल २२ पुस
रुपन्देही व्यापार संघको रणनीतिक योजना तर्जुमा कार्यशाला गोष्ठि ९ वुंदे घले गाउँ घोषणापत्र जारी गर्दै नेपालको पर्यटकिय स्थल लम्जुङको घले गाउँमा सम्पन्न भएको छ ।
संघको आगामी २ बर्षे रणनीतिक कार्ययोजना बनाउन पुगेको संघको कार्यसमितिको टोलीले पुष १९, देखि २१ गतेसम्म घले गाउँमा आयोजना गरेको गोष्ठिबाट जारी गरेको ९ वुदे घले गाउँ घोषणापत्रमा आर्थिक विकासमा व्यवसायी वर्गको महत्वपूर्ण भूमिका र योगदान रहने हुदाँ सो वर्गलाई संगठित गरि उनीहरुको व्यवसायीक सीप विकास र व्यवसायीक अधिकारको संरक्षण र राष्ट्रिय अर्थतन्त्रको जग वलियो बनाउन प्रतिवद्धता व्यक्त गरिएको छ ।
यसैगरि व्यवसाय विस्तार तथा पेशागत सुरक्षा र व्यवसाय प्रर्वद्धनका लागि संघले दरिलो पैरवी गर्दे सामाजिक उत्तरदायीत्व वहन गर्नै लक्ष्यलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता पनि जनाइएको छ । संघलाई सबै व्यवसायीहरुको साझा र सशक्त संस्थाको रुपमा विकास गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय नेटवर्क विस्तारमा लाग्ने बताइएको छ ।

गोष्ठिले रुपन्देही र यसका आसपासका क्षेत्र पर्यटन र कृषिको प्रचुर सम्भावना र आधार क्षेत्र रहेको हुदा त्यसको पहिचान गर्दै त्यहाको विकास तथा अर्थतन्त्रको पकेट क्षेत्रको रुपमा योजनाबद्ध कार्यक्रम बनाएर अगाडी बढउन आग्रह गरेको छ । त्यसका लागि व्यापार संघ केन्द्र, प्रदेश र स्थानिय सरकारसंग सहकार्य एव साझेदारी गर्न प्रतिवद्धता व्यक्त गरिएको छ ।
गोष्ठिले मुलुकमा तीन तहको सरकार गठन भई संविधानले प्रदान गरेको अधिकार प्रयोग गरि कार्य सम्पादन भईरहेको अवस्थामा सबै तहका सरकारबाट मुलुकको आर्थिक समृद्धि र आत्मनिर्भर अर्थतन्त्रलाई बलियो बनाउने दिशामा काम गर्न आग्रह गरेको कुरा घोषणा पत्रमा उल्लेख छ ।
यसैगरि समृद्ध नेपाल सुखी नेपाली भन्ने. नेपाल सरकारको परिकल्पना साकार पार्न राज्यका सम्बन्धित निकायसंग साझेदारी, सहकार्य र समन्वय गर्दै आफ्ना गतिविधि र कार्यक्रम बनाउन रुपन्देही व्यापार संघले घोषणपत्र मार्फत जनाएको छ ।
संघले ५ नं. प्रदेशको अस्थायी राजधानीका रुपमा रहेको रुपन्देही(बुटवल)लाई स्थायी राजधानी तोक्न जोडदार माग गर्दै नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउने उद्देश्यसहित आफ्नो कार्यशाला गोष्ठि कार्यक्रम पर्यटकिय स्थल घले गाउमा राखेको र गोष्ठि सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरि घलेगाउ घोषणापत्र जारी गरिएको जनाइएको छ ।
यसअघि कार्यशाला गोष्ठिको उद्घाटन गर्दै संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले संस्थालाई यसको स्थापनाका अवसरमा व्यक्त गरिएको भावना र लक्ष्यसंग एक गरेर अगाडि बढाउन आग्रह गर्नु भयो ।

संघका अध्यक्ष यमलाल लोहनीको अध्यक्षतामा भएको उद्घाटनसत्रमा संघका पूर्व अध्यक्षहरु शंकर भट्टराई र टंकप्रसाद पोखरेल, सहजकर्ता मुकुन्द ज्ञवाली, कार्यक्रम संयोजक कृष्णप्रसाद घिमिरे बोल्नु भएको थियो । कार्यक्रम सञ्चालन संघका महासचिव दयानीधि भण्डारीले गर्नु भएको थियो ।
दुई चरण गरिएको कार्याशाला गोष्ठिमा सहजकर्ता मुकुन्द ज्ञवालीले संघको भिजन, मिसन र गोलको समिक्षा गर्दै आगामी २ बर्षमा संघले गर्ने संस्थागत विकासको लागि आवश्यक काम, सामाजिक गतिविधि तथा जिम्मेवारीका विषयमा समुहगत रुपमा छलफल गरिएको थियो । त्यसक्रममा संस्थाले आगामी दिनमा सामना गर्नु पर्ने चुनौति, अवसर, बर्तमान अवस्था र संस्थाको सवल पक्षका विषयमा समिक्षा गरियो ।
