भैरहवा, २० पुस । बिद्यार्थीलाई कुटेर घाईते बनाई फरार रहेका रुपन्देहीको एक निजी बिद्यालयका शिक्षकलाई मर्चवार प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देहीको मर्चवार क्षेत्रको सम्मरीमाई गाउँपालिका –६ मा अवस्थित ज्ञानदीप बोर्डिङ्ग स्कूलका शिक्षक शैलेन्द्र बरईलाई प्रहरीले आईतबार सम्मरीमाईबाट पक्राउ गरेको हो । शिक्षक बरई कक्षा ५ मा अध्ययनरत विद्यार्थी १० बर्षीय तौफिक धुनियालाई कुटपिट गरी घाईते बनाएपछि फरार भएका थिए ।
फरार शिक्षक बरइलाई आईतबार नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक पोषणराज ढकालले जानकारी दिनुभयो । पक्राउ परेका शिक्षक बरईलाई सोमबार म्याद थपको लागि रुपन्देही जिल्ला अदालतमा पेश गरिने प्रहरी निरीक्षक ढकालले बताउनु भयो । बरईलाई बालबालिकाबिरुद्धको अपराध अन्तर्गत मुद्धा चलाउने तयारी भैरहेको समेत उहांले बताउनु भयो ।
शिक्षक बरईको कुटाईबाट बिद्यार्थी धुनिया गम्भीर घाईते भएका थिए । उनको हात, खुट्टा र आँखामा गहिरो चोट लागेको थियो । शिक्षक लठ्ठीले जथाभावि हान्न थालेपछि लठ्ठी छेक्ने क्रममा लठ्ठीले धुनियाको आँखामा चोट लागेको थियो । होमवर्क नगरेको भन्दै शिक्षक बरईले विद्यार्थी धुनिया माथि कुटपिट गरेका हुन् ।
