ब्यवसायिक कृषि र पशुपालन गर्न सके विदेश जानु पर्दैन :पर्यटन मन्त्री गिरी
बुटवल, १९ पुस । प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले आधुनिक र ब्यवसायिक तरिकाले कृषि कार्य गर्नुपर्ने बताउनु भएको छ । उहांले अन्य ठाउँका कृषकहरु आधुनिक र व्यवसायिक तरिकाले कृषि क्षेत्रमा अगाडी बढेर राम्रो प्रगति गरेको भएपनि यस क्षेत्रमा ब्यवसायिक कृषकहरू कम रहेको बताउनु भयो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर १ मा रहेको शँकरनगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २६ औँ साधारणसभा तथा रजत महोत्सव समारोहको उद्घाटन गर्दै मन्त्री गिरीले हरेक नेपालीले दुई चारवटा पशुपालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
आफ्नै जमिनको प्रयोग गरेर ब्यवसायिक कृषि गर्ने र सोही ढंगले पशुपालन गर्न सकेमा पैसाकै लागि विदेश जान नपर्ने समेत मन्त्री गिरीले बताउनुभयो । डेरीको माध्यमबाट किसानको उत्पादनले बजार पाएको र अन्य उपभोक्ताले शुद्ध र गुणस्तरीय दूध उपभोग गर्न पाउनुका साथै विभन्न व्यक्तिहरूले रोजगारी समेत पाएको भन्दै उहांले संस्थाको प्रशंसा गर्नुभयो ।
संघीय सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले घोषणा गरेको लुम्विनी भ्रमण बर्ष २०७६ लाई सफल वनाउन सके नेपालमा धेरै पर्यटक भित्रिने र त्यसैको माध्यमबाट धेरैलाई रोजगारीको अवसर सिर्जना हुने हुंदा सबै मिलेर यसलाई सफल वनाउनु पर्ने मन्त्री गिरीले उल्लेख गर्नुभयो ।
नेपालमा प्राकृतिक सुन्दरताले भरिपूर्ण रमणीय तथा पर्यटकीय स्थलहरू धेरै भएको र ती पर्यटकीय क्षेत्रमा पुग्नको लागि प्रदेश सरकारले सडक निर्माणका कामहरू धमाधम गरिरहेको उहांले बताउनु भयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष तामनाथ पाण्डे र वडा नम्बर २ का अध्यक्ष दधिराम गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा मन्त्री गिरी र संस्थाका अध्यक्ष क्याप्टेन प्रेम बहादुर भण्डारीले दुग्ध उत्पादक सहकारी संस्थाका ५४ जना सेयर सदस्यहरुलाई दोसल्ला तथा करिब २० जना ज्येष्ठ नागरिकलाई नगद र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

यस्तै संस्थामा सबैभन्दा धेरै ३० हजार १८४ लिटर दूध उत्पादन गर्ने खिमलाल पाण्डे, २३ हजार १८३ लिटर दूध उत्पादन गर्ने अनिता खनाललगायत दुग्ध उत्पादक किसानहरु बिष्णप्रसाद कँडेल, हुमनाथ पाण्डे, पुष्करनाथ पन्थ लगायतलाई पनि उत्कृष्ट किसानका रुपमा सम्मान गरिएको थियो ।
शँकरनगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष क्याप्टेन प्रेम बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका ब्यवस्थापक जगन्नाथ कँडेलले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
