दर्शकको बाक्लो उपस्थितिले आयोजक उत्साहित
बुटवल, १९ पुस । बुटवल देबीनगरमा सञ्चालित औद्योगिक ब्यापार मेलामा शनिबार ७० हजार दर्शकले मेला अवलोकन गरेका छन् । शनिवार सार्वजनिक विदा भएकाले विद्यार्थी तथा सर्वसाधारणको विहानै देखि बाक्लो उपस्थिति रहेको थियो । शुक्रबार बर्षाका मेला रोकिकएको थियो । तर शनिवार ७० हजार दर्शकहरुको उपस्थितिले मेला आयोजकहरु उत्साहित भएका छन् ।
बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल उपमहानगरपालिका वडा नं. ११ देबीनगर भएको मेलाको १० औं दिन शनिबारसम्म ३ लाख ५० हजार भन्दा बढी दर्शकले मेलाको अलवोकन गरेको संघका अध्यक्ष तथा मेला कार्यसम्पादन मूल समितिका संयोजक खिमबहादुर हमालले जानकारी दिनुभयो । शनिबार मेला अवलोकन गर्नकालागि अत्यधिक दर्शक आएका कारण सर्वसाधारणलाई मेला स्थलमा प्रवेश गर्न समेत हम्मे हम्मे भएको थियो ।
दर्शकको सुविधाकालागि आयोजकले मेला स्थलमा राखिएका टिकट काउन्टर बाहेक शहरका विभिन्न भागमा समेत टिकट काट्न सकिने व्यबस्था मिलाइएको टिकट व्यबस्थापन उपसमितिका संयोजक नरिश्वर शर्मा पौडेलले जानकारी दिनुभयो । संघको आयोजनामा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलामा दर्शकको उल्लेखनिय उपस्थितिले स्टल ब्यवसायीहरु पनि खुसी भएका छन् ।

शनिबार मेलामा लोक तथा दोहोरी गायक शिव हमाल, दिपक गरौंजा, सीता केसी, चेतना थापा, चन्दा अर्याल, सुशिला गौतम, आरती रुचाल, डिला बिक तथा नारायण खनाल लेकालीको प्रस्तुति रहेको थियो भने शनिबारदेखि नै सुरु भएको रत्यौली प्रतियोगितामा ८ टिमको प्रस्तुति रह्यो ।
त्यस्तै सांस्कृतिक कार्यक्रम तर्फ लोक तथा दोहोरी गीत प्रतियोगिता, आधुनिक तर्फ भ्वाईस अफ बुटवलमा टप ७ मा छनौट भएका प्रतिस्पर्धी कलाकारहरुको प्रस्तुति रहेको थियो । आईतबार लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, निता पुन, पुरुषोत्तम पौडेल, अमृता नेपाली, नन्दु परियार, हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) को प्रस्तुति रहने छ । त्यस्तैगरी आधुनिक तर्फ भ्वाईस अफ बुटवल र रत्यौली प्रतिगोगिता अन्तर्गत बाँकी रहेका ७ टिमको प्रस्तुति रहने छ । यस क्षेत्रमा पहिलो पटक सञ्चालन गरिएको रत्यौली प्रतियोगितामा १५ टिम सहभागि छन् ।
