२१ करोड बढिको ईटा नष्ट हुंदा ब्यवसायीहरुमा मर्कामा
बुटवल, १८ पुस । बेमौसमी बर्षाका कारण रुपन्देही जिल्लामा १ करोड २५ लाख काँचो तयारी ईटा गलेर नष्ट भएको छ । शुक्रबार बिहानदेखि परेको हिउँदे बर्षाले सवा करोड इटा नष्ट हुंदा ब्यवसायीहरुको ५ करोड बढि क्षति भएको लुम्विनी इटा उद्योग ब्यवसायी संघका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो । पटक पटक भएको बर्षाका कारण ब्यवसायीहरुले २१ करोड बढि क्षति ब्यहोर्नु परेको उहांले जानकारी गराउनु भयो ।
प्रदेश ५ का अध्यक्ष समेत रहनुभएका घिमिरेले शुक्रवार विहानदेखि परेको हिउदे बर्षाले रुपन्देहीमा रहेका ५२ वटा ईटा उद्योगहरुमा पोल्नका लागि तयार गरि राखिएको ५ करोड बढि मूल्य बराबरको सवा करोड इट्टा नष्ट भएको वताउनु भयो । बर्षाले प्रदेश ५ मा रहेका संघमा आवद्ध २०७ वटा इटा उद्योगमा ठूलो क्षति पुगेको भन्दै अध्यक्ष घिमिरेले अन्य जिल्लाको क्षतिको विवरण संघलन गर्ने क्रममा रहेको बताउनु भयो ।
विहान देखि रुपन्देहीका इटा उद्योगहरुको अनुगमनमा निस्किनु भएका अध्यक्ष घिमिरेले सबै उद्योगले पोल्नका लागि तयारी अवस्थामा राखेका करोडौं इटा अचानक आएको पानीले क्षति पुर्याएको जानकारी गराउनुभयो । पटक पटक भएको बेमौसमी बर्षाले करोडौँको ईटा क्षति हुंदा ईटा व्यवासायीहरु ठूलो मर्कामा परेका छन् ।

यस अघि मंसिर २७ गते परेको बेमौसमी बर्षाका कारण रुपन्देही जिल्लामा मात्र ३ करोड ५० लाख बढि पोल्नका लागि तयारी काँचो ईटा पानीले गलेर नष्ट हुंदा ब्यवसायीहरुको १६ करोड ६२ लाख मूल्य बराबरको क्षतिभएको थियो ।
पटक पटक भैरहेको बेमौसमी बर्षाका कारण यो बर्ष इटा उत्पादनमा कमी आउनुका साथै उत्पादन लागत समेत बढ्ने हुँदा व्यवसायीहरु ठूलो मर्कामा परेको लुम्विनी इट्टा उद्योग ब्यवसायी संघका सदस्य बालश्रम मुक्त सोना इटाका संचालक बिक्रमरत्न बज्राचार्यले वताउनु भयो । उहांले वेमौसमी बर्षाले सिजन सुरु नहुदै लाखौँ लागत मूल्य बराबरको ईटा नष्ट हुँदा आफूहरु मर्कामा परेको बताउनु भयो ।
प्रतिकूल मौसमका कारण काँचो ईटा नष्ट भएकाले नयाँ ईटा उत्पादन कार्य एकमहिना ढिलो अर्थात फागुन १५ सम्म लाग्न सक्ने संघका अध्यक्ष घिमिरेले वताउनु भयो । जिल्लामा सञ्चालित ईटा उद्योगहरुलाई पाँगो भष्कट र कोइला समेत सहज रुपमा उपलब्ध नहुँदा व्यवसाय सञ्चालनमा कठिनाई भैरहेको अवस्थामा पटक पटक भएको बेमौसमी बर्षाले इटा गलाएर नष्ट गरिदिंदा ऋण काढेर गरेको लगानी सवै चौपट भएको बताउनु भयो ।
ईटा उद्योगीहरुले हरेक वर्ष हिउँदको समयमा हुने बेमौसमी बर्षाका कारण करोडौं रुपैयाँ क्षति ब्यहोर्दै आएका छन् । खुल्ला आकाशमुनि लाखौँ लगानी गरेर सञ्चालन भएका ईट्टा उद्योगका काँचो तयारी इटा प्राकृतिक विपद्का कारण गलेर नष्ट हुंदा इटा उद्योगीहरु ठूलो आर्थिक संकटमा परेकोे लुम्विनी इटा उद्योग ब्यवसायी संघका उपाध्यक्ष अजय अधिकारीले बताउनु भयो । अन्य क्षेत्रमा जस्तै इट्टा उद्योगहरुमा पनि विभिन्न बैंकहरुको लगानी गरेकाले सरकारले बैकिङ प्रणलीबाट अन्य क्षेत्रमा गरेको बिमा नीति अनुसार ईटा उद्योगको पनि बिमा गराई दिए ब्यवसायीहरुलाई केही राहत हुने उपाध्यक्ष अधिकारीले बताउनु भयो ।
प्रदेश ५ मा ३ सय ३५ इटा उद्योगहरु संचालनमा रहेका छन् भने ती मध्ये २ सय ७ वटा उद्योग मात्र संघमा आवद्ध रहेका छन् । ती मध्ये रुपन्देहीमा ५२, नवलपरासी दाउन्ने पश्चिम १८ र कपिलवस्तुमा ७१ वटा इटा उद्योग संचालनमा रहेका छन् ।
पटक पटक भैरहेको बेमौसमी बर्षाका कारण करोडौं क्षति ब्यहोरेका यस क्षेत्रका इटा उद्योगीहरुले उद्योगहरुलाई धराशायी हुनवाट जोगाउन आर्थिक बर्ष २०७६÷०७७ मा माटो र भष्कटमा तिर्नुपर्ने रोयल्टी रकममा बिशेष छुट गर्न प्रदेश सरकार संग आग्रह गर्दै आएका छन् ।
