आजको खेलमा राममणिको रातो समूह विजयी
मणिग्राम, १८ पुस । रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. प्राप्त संस्था राममणि बहुमुखी क्याम्पसमा सञ्चालित जिल्लास्तरीय फूटबल प्रतियोगिताको दोस्रो दिनको खेल आज (शुक्रबार) सम्पन्न भएको छ ।
राममणि क्याम्पसले यसवर्ष सञ्चालन गरेको पाँचौं श्रृंखलाको जिल्लास्तरीय अन्तरकलेज फूटबल प्रतियोगिता अन्तर्गतको शुक्रबारको खेलमा लिटिल स्टार समूह विरूद्ध आयोजक राममणिको रातो समूह विजयी भएको छ ।
चिसो मौसम र वर्षाका बाबजूद खेलाडी विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरेको खेल संयोजन समितिका संयोजक अभिषेक छन्तेलले जानकारी दिनुभयो । खेलमा राममणि रातोले लिटिल स्टारलाई दुईका विरूद्ध तीन गोल गरेको थियो ।
प्रतियोगिता अन्तर्गत शनिबार लुम्बिनी इञ्जिनियरिङ् कलेज र प्यारामाउण्ट समूहबीच प्रतिस्पर्धा हुने समितिका सह–संयोजक सूर्य थापाले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाका १६ वटा समूहले प्रतिस्पर्धा गरिरहेको क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिका संयोजक माया घिमिरेले बताउनुभयो ।
“राममणिकप पाँचौं अन्तरकलेज नकआउट फूटबल प्रतियोगिता–२०७६” नाम दिइएको उक्त प्रतियोगिताको पहिलो हुने समूहलाई तीस हजार नगद सहित पुरस्कार तथा पदक र प्रमाणपत्र दिइनेछ ।
त्यस्तै, दोश्रो हुने समूहलाई बीस हजार नगद सहित पुरस्कार तथा पदक र प्रमाणपत्र दिइने क्याम्पसका लेखा अधिकृत उमेशकुमार शाहीले जानकारी दिनुभयो । आउँदो माघ ५ गते प्रतियोगिताको फाइनल खेल सहित समापन हुनेछ ।
राममणि बहुमुखी क्याम्पसले बिहीबार देखि जिल्लास्तरीय अन्तरकलेज फूटबल प्रतियोगिताको पाँचौं श्रृंखला शुरू गरेको हो ।
बिहीबार भएको उद्घाटन खेलमा पर्ल इन्टरनेशलका विरूद्ध आयोजक राममणिको नीलो समूह विजयी भएको थियो । राममणि नीलोले पर्ललाई एकका विरूद्ध तीन गोल गरेको थियो ।
बिहीबार विहान जिल्ला फूटबल संघ रूपन्देहीका महासचिव लोक पुनले प्रमुख रेफ्री निर्मल थापालाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिका संयोजक माया घिमिरेकोे संयोजकत्व तथा उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको उदघाटन कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठक, क्याम्पस प्रमुख मोहनराज शर्मा, तिनाउ–मिशन डेभलपमण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप श्रेष्ठ, तिलोत्तमा व्यापार संघका अध्यक्ष जे.पी. कंडेल, घरेलु तथा साना उद्योग महासंघ रूपन्देहीका अध्यक्ष कन्हैयालाल कसौधन, तिलोत्तमा उद्योग वाणिज्य संघका टीकाराम भण्डारी, क्याम्पस सञ्चालक समितिका सदस्यहरूः धु्रवकुमार धिताल, छत्रबहादुर दर्लामी, यमबहादुर खत्री, प्राध्यापक संघका सभापति ताराप्रसाद पराजुली लगायतले प्रतियोगिता सफलताको कामना गर्नुभएको थियो ।
