नेपाली काँग्रेसले ४४ औं मेलमिलाप दिवस मनाउंदै
काठमाडौं, १६ पुस । आज पुस १६ अर्थात् ४१ औं राष्ट्रिय मेलमिलाप दिवस । नेपाली काँंग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालासहित गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता आठबर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते आजकै दिन राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किनुभएको थियो ।
नेपाली काँग्रेसले पार्टीका संस्थापक वीपी कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवस कै सन्दर्भमा नेपाली काँग्रेसले आज (बुधबार) ७७ वटै जिल्लामा आमसभा, बिचार गोष्ठी, छलफल, अन्तरक्रियालगायतका कार्यक्रम गरी ४४ औँ मेलमिलाप दिवस मनाउदै छ ।
त्यतिबेला तत्कालीन राज्यसत्ताले वीपीलाई फाँसीको सजायँसम्म दिनसक्ने परिस्थितिको पर्वाह नगरी मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको काँग्रेस नेता बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राख्नुभएको थियो ।
तत्कालीन अवस्थामा नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्किनुभएका नेता बिपी कोइराला, गणेशमान सिंहलगायतलाई विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिने बित्तिकै सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो ।
राजा महेन्द्रले २०१७ साल पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री बिपी कोइरालालगायत काँग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए ।
नेपालमा बिपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक र अपरिहार्य छ ।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो ।
नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा गएका नेताहरू राष्ट्रियतामाथि खतरा देखिएको भन्दै आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किनुभएको थियो ।
