कावासोती, १५ पुस । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा रहेको मौलाकालिका अपाङ्ग सेवा संस्थामा रहेका बालबालिकाहरुलाई मंगलबार न्यानो कपडा र खाद्यान्न वितरण गरिएको छ ।
ओम ज्योति विन्दु ट्रष्ट कावासोतीको आयोजना तथा नेपाल रेडक्रस नवलपुरको सहकार्यमा सस्थाका बालबालिकाहरुलाई न्यानो कपडा, तथा खाद्यान्न वितरण गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी नवलपुरका अध्यक्ष मदन भतm अधिकारीले अपाङ्ग बालबालिकाहरुको पालनपोषणको जिम्मा राज्यले नै लिनुपर्नेमा जोड दिनुभयो ।
नेपालमा अपाङ्ग बालबालिकाहरु आफ्नो आधारभुत आवश्यकताबाट नै बन्चित भैरहेको बताउनुहुदै अध्यक्ष अधिकारीले उनीहरुको दक्षता र क्षमतालाई पहिचान गरी राज्यले लगानी गर्न सकेमा उनीहरुको सुखद भविष्य निश्चित हुने विश्वास ब्यक्त गर्नुभयो ।
यसैगरी ओम ज्योति विन्दु ट्रष्टका अध्यक्ष विन्दु केसीले जन्मदिन लगायत विभिन्न अवसरमा गरिने फजुल खर्चलाई कटौती गरी दीनदुःखीहरुलाई सहयोग गर्न सके सबैभन्दा ठूलो पूण्य मिल्ने बताउनु भयो ।
ओम ज्योति विन्दु ट्रष्टका अध्यक्ष विन्दु केसीको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष अमृत श्रेष्ठ, लुम्बिनी आदर्श डिग्री कलेजका क्याम्पस प्रमुख बाबुराम राना मगर लगायतले भनाई राख्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव सरला नेपाल पोख्रेलले गर्नुभएको थियो ।
त्यस्तै ओमज्योति विन्दु ट्रष्टमा आवद्ध सदस्यहरुको सहयोगमा संकलित नगद १५ हजार २० रुपैया संस्थाका सयोजक कृष्ण रोकालाई प्रदान समेत गरिएको थियो ।