डेढलाख दर्शकले गरे मेलाको अवलोकन
बुटवल, १५ पुस । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा मंगलबार छैठौँ दिनसम्म १ लाख ५० हजार बढी दर्शकले अवलोकन गरेका छन् । बुटवल उद्योग बाणिज्य संघले आयोजना गरेको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ को छैठौं दिन मंगलबार मात्रै ५० हजार दर्शकले मेला अवलोकन गरेको मेला सचिवालयले जनाएको छ ।
त्यस्तै मेलाको छैठौं दिनसम्म मेला भित्र ३ करोड बढीको आर्थिक कारोवार भएको अनुमान गरिएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले जानकारी गराउनु भयो । मेलामा विशेष अफर सहित सामानको खरिद बिक्रीको व्यबस्था मिलाईएको कारण उपभोक्ता समेत सन्तुष्ट भएको पाईएको संयोजक हमालले बताउनु भयो ।

यस्तै मंगलबार नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिपकुमार श्रेष्ठले मेलाको स्थलगत अवलोकन गर्नुभएको छ । उहालाई संघका अध्यक्ष खिमबहादुर हमाल, पूर्व अध्यक्ष जीवनप्रसाद ओझा, वरिष्ठ उपाध्यक्ष उज्जवल कसजु लगायतले स्वागत गर्नुभएको थियो ।
यस अंगाडी शनिबार दर्शकको उत्साहजनक सहभागिता रहेको थियो भने मंगलबार ल्होसार पर्व पनि परेको र घमाईलो दिन समेत रहेका कारण मेलामा दर्शकको उत्साहजनक सहभागिता रहेको हो । मेलामा दर्शकहरुले आवश्यक सामान खरिद संगै स्टलहरुको स्थलगत अवलोकनमा समेत बढी ध्यान दिएका छन् ।

मेलामा राखिएको कृषि संग्राहलय, माटो बिना गरिने खेती प्रणाली (हाईड्रोपोनिक्स प्रविधि), बिशेष प्रकारले गरिने मौरी पालन, पानीबाट चल्ने गाडी लगायतका स्टलमा दर्शकको भिड बढि देखिन्छ ।
कृषि प्रवद्र्धनलाई बिशेष महत्व दिएको उद्योग बाणिज्य संघले कृषिको व्यबसायिक बिकास र प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नेगरी स्टल व्यबस्थापन गरेको छ भने मेलाको कृषि संग्राहलयमा कृषि कर्ममा प्रयोग हुने पुराना उपकरणहरु, पुराना प्रशोधन प्रविधिहरु ढिकी, जाँतो लगायत राखिएको छ ।
‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ सञ्चालन गरिएको मेलामा औद्योगिक उत्पादन तथा प्रविधि समेतको प्रवद्र्धन गर्नेगरी ५ सय स्टल राखिएको छ । मेलामा राखिएका स्टलमा समेत अवलोकन कर्ता तथा दर्शकको उत्साहजन सहभागिता भएको स्टल धनीहरुले बताएका छन् ।
मंगलबार मेलामा सांगितिक कार्यक्रम तर्फ आधुनिक गायक प्रमोद खरेल, लोक दोहोरी गायक चन्द्र शर्मा, शान्ति श्री परियार, वैकुन्ठ महत, गायिका प्रिया भण्डारी, शितल शर्मा, गोदरेज भ्वाईस अफ बुटवलका प्रतिस्पर्धी कलाकारहरुको प्रस्तुति रहेको थियो ।
बुधबार आधुनिक गायक पुष्प प्रधान र अमित बराल तथा लोक दोहोरी गायक बद्री पंगेनी, धनबहादुर गुरुङ्, निरु गुरुङ्, डान्सर अञ्जली अधिकारीलगायतको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक टंकप्रसाद गैरेले जानकारी दिनुभयो । त्यस्तैगरी बुधबार नै आमा नृत्य प्रतियोगिता समेत सञ्चालन हुने छ ।
मंगलबार गाउँले रोधीघर काठमाण्डौ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जाका बिचमा भएको दोहोरी गीत प्रतियोगितामा स्याङ्जा विजयी भएको छ । दोहोरी गीत प्रतियोगिता अन्तरगत बुधबार प्रितम सर्मिलाको समुह र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रदेश नं. ५ का बिच हुनेछ भने गोदरेज भ्वाईस अफ बुटवलको प्रतिस्पर्धि कलाकारहरुको पनि प्रस्तुति रहने छ ।
