बुटवल,१५ पुस । बर्तमान समयमा बी पी कोइरालाले अंगिकार गरेको राष्ट्रिय मेलमिलापको नीति थप सान्दर्भिक भएको सरोकारवालाहरुले बताएका छन् ।
बी पी बिचार राष्ट्रिय समाज बुटवल उपमहानगर समितिद्वारा मंगलबार बुटवलमा आयोजित ‘बी पी को मेलमिलाप दिवस र आजको राजनीतिक परिवेशमा यसको सान्दर्भिकता’ बिषयक छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन् ।
मुलुकको राष्ट्रियता खतरामा पर्न लागेको महसुस गरेर बी पी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति अगाडी सारेर भारतबाट नेपाल फर्केको स्मरण गर्दै उनीहरुले अहिले पनि मुलुकको सीमा मिचिएकोले सम्पूर्ण नेपालीहरुमा राष्ट्रिय मेलमिलापको नीति थप सान्दर्भिक र अपरिहार्य भएकोमा जोड दिए ।
बी पी बिचार राष्ट्रिय समाज बुटवल उपमहानगर समितिका सभापति नारायण अधिकारीको सभापतित्वमा भएको छलफल कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा पूर्व मन्त्री अब्दुल रज्जाक, नेपाली कांग्रेस रुपन्देहीका पुर्व सभापति रामचन्द्र ढकाल, पार्टीका जिल्ला सचिब रामकृष्ण खाँड, नेपाली कांग्रेस महासमिति सदस्य बालकुममारी भण्डारी, बी पी बिचार राष्ट्रिय समाजका अध्यक्ष शरद भट्टराई, समाजका सल्लाहकार बिष्णु पोखरेल, हरि न्यौपाने, नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य मदन कट्टेल, नेपाल मुस्लिम संघका केन्द्रीय सल्लाहकार महमद हुसेन लगायतले बोल्दै बी पी युगको अभियान र सम्वाहक भएको बताउनु भयो ।

उहांहरुले नेपालमा भएका भएका हरेक गतिविधि वी पी का बिचारका आधारमा भएका भन्दै वी पी ले प्रतिपादन गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्त युगको आवश्यक्ता भएको बताउनु भयो । हिजोका दिनमा हत्या हिंसाको राजनीतिमा लागेका शक्तिहरु अहिले वी पी कै विचार र दर्शनमा समाहित हुनुले पनि वी पी को विचार अहिले पनि सान्दर्भिक छ भन्ने कुरा पुष्टि भएको उहांहरुको भनाई थियो ।
कार्यक्रममा बी पी बिचार राष्ट्रिय समाज बुटवल उपमहानगर समितिका उपसभापति जाकिर हुसेनको स्वागत र समाजका नगर सचिब जयप्रकाश भट्टराईको संचालनमा भएको थियो ।
